महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी सञ्चालनमा

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४, जानकी टोल, महेन्द्रनगरमा आधुनिक सुविधासहितको मदरल्याण्ड मण्टेश्वरी विद्यालय सञ्चालनमा आएको छ। २०८१ मा दर्ता भएको यो विद्यालय चालु शैक्षिक सत्र २०८२ देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

करोडौँ लगानीमा निर्माण गरिएको आधुनिक भवनमा वातानुकूलित (एसी) कक्षाकोठाहरू छन्, जुन शिशु र बालबालिकाको पठनपाठनका लागि बालमैत्री वातावरणमा डिजाइन गरिएको छ।

विद्यालयले हाल प्रारम्भिक तहका कक्षाहरू– बाल विकास, नर्सरी, एलकेजी, यूकेजी र कक्षा १ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन सञ्चालन गरिरहेको छ भने हालसम्म ७५ जना विद्यार्थी भर्ना भइसकेका छन्। त्यसैगरी विद्यालयले विद्यार्थीहरूको सुविधाका लागि छुट्टै यातायात व्यवस्था पनि उपलब्ध गरेको छ।

विद्यालयकी प्रिन्सिपल सरस्वती चन्द भट्टले मण्टेश्वरी अवधारणामा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

“हामीले अभिभावक र बालबालिकाको आवश्यकताअनुसार कक्षाहरू सञ्चालन गरेका छौँ। हाम्रो मुख्य उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्नु हो,” उनले भनिन्।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले शिक्षाको गुणस्तर वृद्धि गरी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विद्यालय सञ्चालनमा ल्याइएको बताए।

“हाम्रो आफ्नै जग्गामा निर्माण भएको आधुनिक भवनमा बालमैत्री कक्षाहरू सञ्चालन हुनेछन्। भविष्यमा माथिल्ला कक्षाहरू सञ्चालन गर्न छुट्टै स्थानमा विस्तार गर्ने योजना छ,” उनले भने।

त्यस्तै, सञ्चालक प्रेमराज पनेरु ९पुष्कर० ले अभिभावकको आवश्यकतामा केन्द्रित भई शैक्षिक गुणस्तर वृद्धिलाई प्राथमिकता दिएको बताए। विद्यालयमा हाल ८ जना शिक्षिका र ४ जना कर्मचारी कार्यरत छन्।

नेपाल पत्रकार महासंघ कञ्चनपुरकी उपाध्यक्ष धर्मा रोकायाले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता गर्न नहुनेमा जोड दिइन्। विद्यालयको शनिबार भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले विद्यालयको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

सञ्चालकहरूले मदरल्याण्ड मण्टेश्वरी विद्यालयलाई कञ्चनपुर जिल्लाकै नमुना मण्टेश्वरीका रूपमा स्थापित गर्ने संकल्प व्यक्त गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार