काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले शिक्षकहरूका माग सम्बोधन गर्न आग्रह गरेका छन् । १४ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरूका माग सम्बोधन गर्न सरकारलाई गम्भीर बन्न आग्रह गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका साउदले शिक्षकमा मागमा सरकार गम्भीर नहुनु आश्चर्यजनक विषय भएको बताए ।सरकार गम्भीर नहुँदा नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउँदै शैक्षिक हडताल घोषणा गरेको छ । जसले गर्दा एसईईको उत्तर पुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा बहिष्कार जस्ता कठोर कदम चालेका छन् ।

शिक्षकको आन्दोलनका कारण ठुलो क्षति पुगेको बताउँदै यो विषयलाई गम्भीरतापूर्वक लिई अविलम्ब निकास दिन सरकारलाई आग्रह गरे ।आफ्नो पार्टीको तर्फबाट सरकारका सरोकारवाला निकायसँग माग सम्बोधन गर्न बारम्बार पहल भएता पनि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद भएको उनको भनाइ छ ।

शिक्षकको शान्तिपूर्ण प्रदर्शनलाई कमजोरीका रूपमा हेर्नु ठुलो भूल हुने समेत बताए । आन्दोलन जति लम्बिँदै गयो, शैक्षिक क्षेत्रले त्यति नै ठुलो क्षति बेहोर्नुपर्ने उनको भनाइ छ ।सरकारले शिक्षकको आन्दोलन तत्काल समाधान नगरे नेपाली कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।