एमाले सुदूरपश्चिम बैठकः भीम रावलका कारण पार्टीलाई धक्का लाग्छ, कारबाही फुकुवा हुनुपर्छ

प्रकाशित:

कञ्चनपुर। एमालेबाट निष्काशित नेता डा. भीम बहादुर रावलको कारबाही फुकुवा हुनु पर्ने सुदूरपश्चिमका एमाले नेताहरुले बताएका छन्।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा रावलमाथिको कारबाहीको विषय उठान गरेका हुन।

शुक्रबार र शनिबार कैलालीको धनगढीमा सम्पन्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पाँचौ पूर्ण बैठकमा नेताहरुले रावलमाथिको कारबाहीको विषय चर्को रुपमा उठान गरे।

रावलको गृहप्रदेश समेत रहेको सुदूरपश्चिममा उनीमाथिको कारबाहीले एमालेलाई ठूलो क्षति पुग्ने भएकाले कारबाही फुकुवा गरेर पार्टीमा सक्रिय गराउनु पर्ने बताए।

स्रोतका अनुसार प्रदेश कमिटी बैठकमा ११ समूह बनाएर छलफल चलाइएको थियो। छलफलपछि टोली नेताले धारणा राखेका थिए। रावलमाथिको कारबाहीपछि पार्टी कार्यकर्ता निराशा छाएकोले उनीमाथिको कारबाही फुकुवा हुनु पर्ने टोली नेताहरुले उल्लेख गरेका थिए।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव नरबहादुर विश्वकर्माले रावलमाथिको कारबाहीले राम्रो सन्देश नगएकाले प्रदेशमा पार्टीलाई धक्का लाग्ने बताए।

‘पार्टीभित्र फरक मत राख्न पाइन्छ। नेतृत्वविरुद्ध बोल्यो भन्दैमा कारबाही गर्नुहुदैनथ्यो। उहाँ (रावल) जतिको नेतालाई पार्टीबाट निकालेपछि पार्टीलाई धक्का लाग्छ,’ उनले भने, ‘नेतृत्वविरुद्ध बोलेपनि आत्मआलोचना गरेर पार्टीमा सक्रिय गराउन सक्नु प-थ्यो।’

एमाले डोटीकी अध्यक्ष मञ्जु मलासीले मिसन ०८४ अभियानमा लागेको बेला पार्टीमा मान्छे जोड्नु पर्नेमा पार्टीबाट निष्काशित गर्दा पार्टीलाई असर पर्ने बताइन्। रावलमाथिको कारबाहीपछि मिसन ०८४ कसरी सफल हुने भन्दै उनले प्रश्न समेत गरिन्।

‘बोल्यो भने भीम रावलको कित्ताको मान्छे भन्छन्। पार्टीमा मान्छे जोड्दै जानु पर्नेमा निकालिएको छ,’ उनले भनिन्, ‘कसरी मिसन ०८४ सफल हुन्छ? नेताहरुले सुध्रिनुपर्छ। उहाँ (रावल)माथिको कारबाही फुकुवा हुनुपर्छ।’

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भीमबहादुर देउवाले पनि रावललाई निष्काशित गर्ने निर्णयमा पुनर्विचार गर्नु पर्ने बताए। रावलमाथिको कारबाहीले सुदूरपश्चिमका ९ वटै जिल्लामा पार्टीलाई असर पर्ने बोल्ने वक्ताहरुको भनाइ थियो।

पार्टीलाई सुदृढ पार्न सबै लाग्नु पर्नेमा उनीहरुले जोड दिए। एमाले सुदूरपश्चिम प्रदेश कमिटी बैठकमा बोल्ने कतिपय प्रदेश स्तरका नेताले कार्यकर्ता पङ्क्तिबाट रावलको कारबाही फुकुवा गरेर पार्टीमा ल्याउनु पर्ने माग आएको बताएका थिए।

यो बैठकमा एमाले केन्द्रीय सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा पनि सहभागी थिए। पार्टी नेतृत्वसंग रावलको छलफल गराउन प्रयास गर्दा पनि नसकिएको उनीहरुले बताए।

पार्टीले गरेको निर्णय कार्यान्वयन हुने उनीहरुको भनाइ छ। स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले भने, ‘पार्टीले रावललाई कारबाही गर्दा दुःख लागेको छ। हामीले प्रयास गर्दा पनि छलफल गराउन सकेनौँ। पार्टीले गरेको निर्णय अब कार्यान्वयन हुन्छ।’

एमालेले तीन महिने वडा केन्द्रीय पार्टी सुदृढिकरण अभियान थाल्ने तयारी गरेको छ। पार्टीलाई बलियो र सुदृढ बनाउन आगामी माघदेखि तीन महिना वडा केन्द्रीत अभियान थालिने एमालेले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार