तिलोत्तमा। रुपन्देहीमा आफ्नै भतिजा र साथीभाइको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका–७ बैरीहवा बस्ने ३५ वर्षीय राजु शाहनीको शुक्रबार राति कुटपिटबाट मृत्यु भएको हो ।
उक्त रात साढे ८ बजे मदिरा सेवन गरी एक आपसमा झगडा भएपछि भतिजा २१ वर्षीय अजय शाहनी, २२ वर्षीय सुरज कहार र २९ वर्षीय राजकुमार कुर्मीले राजुलाई मरणासन्न हुनेगरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जित सिंह राठोरले बताए ।
गम्भीर घाइते भएका शाहनीलाई भिम अस्पताल लगिएको थियो । तर धेरै रगत बगेकाले मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । कुटपिट गर्ने ३ मध्ये २ जनालाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको र मुख्य आरोपी अजयलाई शनिबार बिहान पक्राउ गरेको एसपी सिंहले जानकारी दिए ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।