कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बसपार्कमा यात्रु स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ ।
वडादशैँ, दीपावली र छठ पर्वको अवसरमा भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्कमा नगरपालिकाले ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको हो।
यात्रुहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नगरपालिकाले निशुल्क हेल्थ डेक्स सञ्चालन गरेको नगर प्रमुख पदम बोगटीले बताए।
‘यात्राका क्रममा थुप्रै स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यात्रुको स्वास्थ्य सुरक्षाका लागि यो हेल्थ डेक्स सञ्चालन गरिएको हो।’
‘हेल्थ डेस्क’बाट प्राथमिक उपचार, ब्लड प्रेसर, ज्वरो जाँच र आवश्यक औषधी निःशुल्क उपलब्ध गराइने छ।
महेन्द्रनगर बस पार्कको विकास तथा संरक्षणका लागि आफू प्रतिवद्ध रहेको नगर प्रमुख बोगटीको भनाइ थियो।
मंगलवार एक कार्यक्रमकाबीच नगर प्रमुख बोगटीले ‘हेल्थ डेस्क’ सञ्चालनका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए।
नगर उपप्रमुख नीलम लेखक जोशीले बस पार्कको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको बताइन्।
महाकाली यातायात प्रालिका अध्यक्ष डम्मर पन्तले यात्रुहरुको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले हेल्थ डेक्स स्थापना गरेकोमा कृतज्ञता व्यक्त गरे।
भीमदत्त नगरपालिका–४ का अध्यक्ष सुशील कुमार भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रवक्ता पदम राज अवस्थी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक उमेश जोशी, बस व्यवसायी तथा यातायात प्रालिका अध्यक्ष र सवारी चालक लगायतको उपस्थित थियो।