महेन्द्रनगर । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा लिटरको सात रुपैयाँ र डिजेल तथा मट्टीतेलमा लिटरको पाँच रुपैयाँ घटाएको हो । खाना पकाउने ग्यासको भाउ भने यथावत छ ।

पेट्रोलमा प्रतिलिटर सात रूपैयाँ र डिजेल तथा मट्टीतेल पाँच रूपैयाँ घटाएको छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६८ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५१ रूपैयाँ ५० पैसा पर्नेछ ।
त्यस्तै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५३ रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७१ रूपैयाँ तथा डिजेल र मट्टीतेल लिटरको १५४ रूपैयाँ पर्नेछ ।


