सम्बन्ध विच्छेदका लागि २१२ जना पुरुष र ४२६ जना महिला पुगे अदालत

प्रकाशित:

धनगढी । कैलालीमा ८ महिनामा सम्बन्धविच्छेदका ६ सय ३८ मुद्दा अदालतमा दर्ता भएका छन्। सम्बन्धविच्छेद गर्नेमा पुरुषभन्दा महिला अगाडी देखिएका छन्। चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म जिल्ला अदालत कैलालीमा दर्ता भएका ६ सय ३८ मुद्दामध्ये चार सय २६ महिलाले दायर गरेका मुद्दा हुन्। सो अवधिसम्म पुरुषले दुई सय १२ मुद्दा दायर गरेका छ।

आर्थिक वर्ष २०७६र७७ देखि चालु आर्थिक वर्षको चैतसम्म सम्बन्धविच्छेदका लागि कैलाली अदालतमा दुई हजार ३ सय ६० मुद्दा दर्ता भएका छन्। जसमध्ये एक हजार ६ सय ३८ मुद्दा महिलाले दर्ता गराएका छन् भने ७ सय २२ थान मुद्दा पुरुषले दर्ता गराएका छन्। कैलालीमा सम्बन्धविच्छेदका लागि अदालत जानेमा पुरुषभन्दा महिलाको संख्या दोब्बर देखिएको छ।

पुरानो मुलकी ऐनलाई विस्थापित गर्दै आएको नयाँ कानूनले पुरुषलाई महिलासरह सम्बन्धविच्छेदको अधिकार दिएको छ। संहिताले महिला र पुरुषलाई बराबरी अधिकार दिएपछि भने सम्बन्धविच्छेद गर्ने पुरुषका निवेदन समेत अदालतमा दर्ता भइरहेका छन्। केही घटनामा ‘मेरो जीवन मेरो अधिकार’ भन्दै स्वतन्त्र भएर बाँच्न चाहने पुरुष तथा श्रीमानले खान लाउन नदिने, हेरचाह नगर्ने, पारिवारिक बहिष्कारका कारण महिलाले पनि सम्बन्धविच्छेद गर्ने गरेको पाइएको छ।

सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजागार, कम उमेरमा विवाह र अन्य पारिवारिक समस्याका कारण सम्बन्धविच्छेद हुने गरेको समेत पाइएको छ। सँगै बाच्ने र सँगै मर्ने कसम खाएर साइनो गाँसेका जोडीहरूबिच आपसमा समझदारी हुन नसक्दा क्षणभरमै त्यस्तो साइनो पराइमा परिणत हुने गरेको छ।

एउटै रथका दुई पांग्रा भनिएका पतिपत्निबिच बिमेल भएपछि जिल्लामा सम्बन्धविच्छेद गर्नेको संख्या वर्षेनी बढ्दो छ। बाबुआमाले गर्ने सम्बन्धविच्छेदको प्रत्यक्ष असर नाबालक छोराछोरीहरूलाई पर्न गई उनीहरूको भविष्यसमेत अनिश्चित हुने महिला अधिकारकर्मीहरु बताउँछन्। जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदको ‘ट्रेन्ड’ बढ्दो छ। आपसमा विश्वासको वातावरण बनाउन नसक्दा धेरै जोडीहरू टुट्ने गरेका छन्।

साथै सम्बन्धविच्छेदका मुद्दा बढ्नुमा बालविवाह, बहुविवाह, वैदेशिक रोजगार, आधुनिक जीवनशैलीको नक्कल, देखासिकीजस्ता कारणहरू देखिएको छ। उमेर नपुग्दै विवाह गर्ने, फरक जातमा विवाह गर्ने, उमेरको भिन्नता, श्रीमान् वैदेशिक रोजगारमा जाने, बहुविवाह इत्यादि नै सम्बन्धविच्छेदको कारण भएको बताइएको छ। पारिवारिक समस्या भएका कतिपय दम्पतीहरू अदालतमा गएर सम्बन्धविच्छेद गर्नुभन्दा पहिले प्रहरीकहाँ पनि पुग्ने गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार