राष्ट्रिय निकुञ्जको खोरमा मरे तीन बाघ

प्रकाशित:

महेन्द्रनगर । पछिल्लो केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मरेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघ मरेका हुन्। बाघको मृत्युसँगै पर्सा राष्ट्रिय निकुञ्जको खोर खाली भएको छ।

पछिल्लो पटक गत असार २३ गते चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याइएको आठ वर्षको वयस्क भाले बाघको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ। केही दिनदेखि बिरामी परेको बाघलाई खोरमा आहार दिन जाने क्रममा मृत्यु भएको अवस्थामा भेटिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष र भगतले जानकारी दिए। दुई महिनाअघि पर्सा राष्ट्रिय निकुञ्जको खोरमै राखिएको दुई बाघको मृत्यु भएको थियो।

दुई बाघ राख्न सक्ने क्षमता रहेको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा तीन वटा बाघ राख्दा अत्यन्तै दुर्गन्ध फैलिएको र साँघुरो भएकाले बिरामी परेर बाघको मृत्यु भएको हुनसक्ने पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको भनाइ छ। उद्धार गरेर लामो समयसम्म खोरमा राख्नु परेकाले बिरामी भएर बाघको मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताए। सन् २०२२ को गणनाअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा ४१ दुर्लभ पाटेबाघ छन्। रासस

 

ताजा समाचार

सम्बन्धित समाचार