महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा एक भारतीय नागरिकले दशगजा क्षेत्रबाट माटो उत्खनन गरेपछि विवाद उत्पन्न भएको छ । सोमबार बिहान बेलौरी नगरपालिका-१० सडकघाटको सिमावर्ती क्षेत्र दर्सी खल्लामा पिलिभित जिल्ला कम्बोजनगरका भारतीय नागरिक अनुप सिहले घर भरानका लागि सीमाको दशगजाबाट माटो लैजान थालेपछि विवाद उत्पन्न भएको हो ।

भारतीय नागरिक सिंहले दशगजाबाट माटो भारततर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि सशस्त्र प्रहरी बल बिओपी भुडालाई खबर गरेका थिए । सम्बन्धित क्षेत्रमा बिओपी भुडाका इन्स्पेक्टर खेमराज जोशीको नेतृत्वमा टोली गई भारतीय सीमा सुरक्षा बल एसएसबि तथा भारतीय जनप्रतिनिधिसँग सो विषमा कुरा गरी माटो लैजानबाट रोकेको सशस्त्र ३५ नम्बर गण झलारीका प्रमुख एसपी खगेन्द्र चन्दले बताए ।

कञ्चनपुरमा स्ट्रिप नक्साले जिल्लाभरिका सिमावर्ती क्षेत्रमा समस्या उत्पन्न हुने गरेको छ । माटो उत्खनन गरेको ठाउँमा भारतीयका ४र५ घर टहरा बनेका छ्न् । उक्त क्षेत्र स्ट्रिप नक्सामा नेपालतर्फ देखाएपनि जिल्लाभरी सयौँ बिघा जमिन, भुडामा महाकाली सिँचाइ अन्तर्गतको नहर, पचुइमा हुलाकी सडकखण्ड, पुर्नवासमा प्याराताल भारतमा परेको देखाउँछ ।

भारतमा पर्ने देखाइएको नेपाली भूभागमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गस्ती समेत गरिरहन्छ । केही महिनाअघि बेलौरी नगरपालिका–१० भुडामा भारतीय सीमा सुरक्षाबल एसएसबीले हातहतियारसहित सीमा नापजाँच गरिरहेको अवस्थामा स्थानीयले फिर्ता पठाएका थिए ।


