बैतडी । बैतडीमा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरिएको छ । कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा पनि अभियान सञ्चालन गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।

अभियान अन्तरगत गाउँघर केन्द्रीत कार्यक्रम जारी रहेका र जनतासँगको भेटघाटमा पार्टी सक्रिय भएको जोशीको भनाई छ । अभियान आमसभा, गोष्ठी वा कुनै प्रचारप्रसार केन्द्रीत नभएको पार्टी जिल्ला उपसभापती बीरबहादुर बिष्टले बताए ।

उनले भने,‘यो अभियान प्रचारप्रसार केन्द्रीय होइन्, जनताको घरमा जाने सुख–दुःखका कुरा गर्ने, गाउँठाउँमा भएको विकास निर्माण हेर्ने, असल अभ्यासहरु हेर्ने, जन गुनासा र जन अपेक्षा अध्ययन गर्ने कांग्रेसले नेतृत्व गरेका वडाका कमजोरीहरु सच्याउन निर्देशन दिने, जनताका समस्या समाधान गर्ने, अहिले हामी केहिपनि भन्दैनौँ, जनधारणा अध्ययन गरिन्छ ।’ अभियान पश्चात प्रतिवेदन तयार गरि पार्टीलाई बुझाइने र त्यसैका आधारमा पार्टीले आगामी निति तथा कार्यक्रम तय गर्ने विष्टको भनाई छ ।

जिल्लाका ८४ ओटै वडाका लागि कार्यक्रम तय भएको तर जिल्ला कार्यसमितिको टोली भने १० ओटै स्थानिय तहको एकएक ठाउँमा पुग्ने पार्टीका अर्का सचिव प्रेम बहादुर चन्दले बताए ।
अभियानमा कृषक समूह, क्लवहरु, गाउँठाउँमा रहेका विभिन्न क्षेत्रमा कार्यरत समिति तथा समूहहरुसंग भेटघाट र छलफल चलिरहेको जनाएको छ ।
यस अभियानले पार्टीलाई चलायमान गराई जनअपेक्षा अनुरुपका कार्यक्रम तय गर्न सहज तुल्याउने अपेक्षा गरिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए ।
अभियानका लागि हरिप्रसाद बोहरा केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका छन् । जनताका अपेक्षा, गुनासो र सुझाव संकलन गर्नका साथै सेवा प्रवाह र विकास निर्माणका कामको अवस्थाका बारेमा अभियानका दौरान जानकारी लिइने बोहराले बताए ।
१६ माघबाट सुरु भएको यो अभियान माघ २६ गते टुङ्गिनेछ । सहिद दिवसको अवसरमा सहिद दशरथचन्दको जन्मघरबाट अभियान थालनी गरिएको थियो ।


