महेन्द्रनगर । सुदू्रपश्चिम प्रदेश सरकारका मन्त्री लगायतको जम्बो टोली सहित नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक महाकाली करिडोरको अनुगमन एवं परशुराम धाममा माघी स्नानका लागि प्रस्थान गरेका छन् ।
सोमबार महाकाली करिडोरको ‘जिरो प्वाइन्ट’ ब्रह्मदेवबाट सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री, प्रदेश सभा सांसद, नेपाली कांग्रेसका नेताहरुको जम्बो टोली सहित प्रमुख सचेतक लेखक अनुगमन तथा माघी स्थानका लागि परशुराम धाम सम्म यात्रामा निस्किएको नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का सभापति केशब चन्दले बताए ।
महाकाली करिडोरको अनुगमन तथा परशुराम धाममा माघी स्नानका लागि कांग्रेस प्रमुख सचेतक लेखक संग सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, प्रदेश सभा सांसदत्रेय मधु भारती, प्रकाश रावल र ओम विक्रम भाट (सरल), नेपाली कांगेस कञ्चनपुरका पार्टी सभापति एवं भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी लगायत नेता तथा कार्यक्रताहरुको जम्बो टोली नै यात्रामा हिडेको छ ।
महाकाली करिडोर अन्तर्गत कञ्चनपुर देखि दार्चुला खण्डमा हालसम्म दुई सय ४१ किलोमिटर ट्र्याक खोलिएको छ । अब डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ ।
करिडोर बनेपछि सुदूरपश्चिमको कायाकल्प हुने यस क्षेत्रका स्थानीयको विश्वास छ । विसं. २०६५/०६६ देखि महाकाली करिडोरको काम थालिएको भए पनि दशक बितिसक्दा पनि सम्पूर्ण सडकको ट्र्याक खुलेको छैन ।
कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विकट क्षेत्र जोड्दै चीनको सिमानासम्म पुग्ने यो सडकले सुदूर पहाडको आधाभन्दा बढी भूभागलाई तराईसँग जोड्ने छ ।
कञ्चनपुरदेखि दार्चुलासम्म चार सय २५ किलोमिटर सडक निर्माण हुने छ । ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किलोमिटर सडक महाकाली करिडोर सडक आयोजनाले निर्माण गरिरहेको छ । तुसारपानीदेखि तिङ्करसम्म ९१ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोली रहेको छ ।