कञ्चनपुरको कृष्णपुरमा ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम सञ्चालनमा

प्रकाशित:

महेन्द्रनगर । छोरीमाथि हुने विभेद हटाउन कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम सञ्चालन गरिएको छ ।

नगरपालिका क्षेत्र भित्रका स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी भई जन्मने बालिकालाई नगरपालिकाले बचत खातामार्फत दुई हजार रकम उपलब्ध गराउन कार्यक्रम सञ्चालन गरिएको हो ।

गर्भमा रहेका छोरीको भ्रुण हत्या निरुत्साहित गर्न, छोरीमाथिको विभेद हटाउन, छोरीको जन्मदर्ता गराउनका लागि कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख रतनबहादुर बिष्टले बताए ।

उक्त रकमका लागि बालिका स्वास्थ्य संस्थामा जन्मेको प्रमाणपत्र, आमाको नागरिकताको प्रतिलिपि, बाल बचत खाता नम्बर सहित भुक्तानीको लागि सम्बन्धित बालिकाका आमाले वडा कार्यालयमा निवेदन दिनुपर्ने छ ।

आर्थिक वर्षको पुस मसान्त र असार मसान्तमा रकम भुक्तानी हुने गरी कार्यक्रम सञ्चालन गरिएको बिष्टले बताए । “कार्यक्रम सञ्चालनपछि छोरीहरूमाथि हुने विभेद हट्ने विश्वास लिएका छौँ,” उनले भने, “गर्भमै भ्रूण पहिचान गरी छोरा भएमात्र जन्माउने र छोरी भए गर्भपतन गर्ने परिपाटीको अन्त्य गर्नका लागि कार्यक्रम प्रभावकारी हुने विश्वास छ ।” यसबाट छोरीले बाँच्न पाउने अधिकारको सुरक्षा हुने उनको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार