महेन्द्रनगर । तराई–हिमाल जोड्ने महाकाली करिडोर निर्माणको काम निकै सुस्त देखिएको छ । त्रिदेशीय नाकाको रुपमा अघि बढाइएको सो सडक निर्माणको गति प्रभावकारी बन्न सकेको छैन् ।

कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा–बैतडी र दार्चुलाको तिंकरसम्म चार सय १३ किलोमिटर सडक २०६६ देखि सुरु गरिएको भए पनि काम अपेक्षाकृत रुपमा हुन नसकेको स्थानीय बताउँछन् ।

नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको सो सडक निर्माणको प्रगति सन्तोषजनक छैन । चार सय १३ किलोमिटरमध्ये एक सय २० किलोमिटर सडकखण्डको ट्रयाक खोल्न बाँकी नै रहेको महाकाली करिडोर आयोजनाले जनाएको छ ।

कञ्चनपुरमा १०, डडेल्धुरामा ३०, बैतडीमा ५५ र दार्चुलामा २५ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ । डडेल्धुरामा रूख कटानको अनुमति नहुँदा काम अघि बढ्न सकेको छैन ।
महाकाली करिडोरका लागि आर्थिक वर्ष २०७८/७९ मा ८२ करोड ४२ लाख, २०७९/८० मा ४४ करोड ११ लाख बजेट विनियोजन हुँदा चालू आर्थिक वर्षमा २९ करोड ५० लाख मात्रै छुट्याइएको आयोजना प्रमुख लक्ष्मणदत्त जोशीले बताए ।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको सुनसेरासम्मको तीन सय ३४ किलोमिटर सडक आयोजनाले निर्माण गरिरहेको छ । गत वर्ष २७ किलोमिटर सडकको ट्रयाक निर्माण गरिएको थियो ।
दार्चुलाको खलंगादेखि दुहुँ गाउँपालिकाको पीपलचौरी खण्ड र महाकाली नगरपालिकाको बेतदेखि मालिकार्जुन गाउँपालिकाको जोलजीवी–उकु खण्डमा कालोपत्रका लागि ठेक्का सम्झौता भएको छ । करिब ३२ किलोमिटरको सडकखण्ड कालोपत्रे गर्न एक अर्ब ३५ करोडको ठेक्का सम्झौता गरिएको छ ।
करिडोर अन्तर्गतको सुन्सेराको तुषारपानीदेखि तिंकर भन्ज्याङसम्मको ७९ किलोमिटर लामो सडक निर्माणको काम आव २०७८÷७९ बाट नेपाली सेनाले थालेको छ ।
उक्त सडकखण्डमा चालू आर्थिक वर्षमा सेनालाई १४ करोड बजेट उपलब्ध गराएको छ । गत वर्ष ९ करोड ३० लाख ३० हजारमा तिंकर सडक निर्माणका लागि सेनालाई दिइएको थियो । आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो ।