आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु, पाँच लाख १४ हजार बढी विद्यार्थी सहभागी हुँदै

प्रकाशित:

महेन्द्रनगर । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका २,०७९ परीक्षा केन्द्रबाट एक साथ बिहान ८ बजे परीक्षा आरम्भ हुनेछ।

पहिलो दिन परीक्षार्थीले अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना, तथा मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा दिनेछन्।यस वर्ष एसइईमा ५,१४,०७१ जना विद्यार्थी सहभागी हुनेछन्, जुन अघिल्लो वर्षको तुलनामा ४९,२८६ जना बढी हो। गत वर्ष २०८० मा ४,६४,७८५ जना परीक्षार्थी सहभागी भएका थिए।


परीक्षा केन्द्र व्यवस्थापनअनुसार १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटाइनेछ। ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नरहने जानकारी बोर्डले दिएको छ।

परीक्षाको तालिका

  • चैत ८: अनिवार्य नेपाली, गैरनेपाली विद्यार्थीका लागि इलेक्टिभ इङ्लिस

  • चैत १०: अनिवार्य गणित

  • चैत १२: अनिवार्य विज्ञान तथा प्रविधि, संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत

  • चैत १३: अनिवार्य सामाजिक

  • चैत १४: ऐच्छिक प्रथम

  • चैत १५: ऐच्छिक द्वितीय

बोर्डले असार ७ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने योजना बनाएको छ। न्यूनतम ३५ अंकभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन्। यस वर्ष पनि लेटर ग्रेडिङ प्रणाली लागू हुनेछ। साथै, उत्तीर्ण दर ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ। विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार