महेन्द्रनगर । कञ्चनपुरका सात क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएका सात मध्ये पाँचमा नेपाल विद्यार्थी संघ (नेवि संघ) ले प्यानल सहित जित हासिल गरेको छ ।

दुई क्याम्पसमा अखिल क्रान्तिकारीले जित हासिल गरेको छ भने अनेरास्ववियुले जिल्लामा खाता समेत खोल्न सकेको छैन् ।

चैत्र ५ मा सम्पन्न भएको स्ववियु निर्वाचनमा कञ्चनपुरका ६ क्याम्पस कलेज मध्ये भानु बहुमुखी क्याम्पस दोधारा चाँदनी, रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, जनता क्याम्पस पुनर्वास र कञ्चन बहुमुखी क्याम्पस गुलरीयामा नेवि संघको प्यानलै विजयी भएको छ । यस अघि नै झलारीको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा नेवि संघका करन प्रसाद भट्ट र्निविरोध निर्वाचित भएका छन् ।

त्यस्तै बैलौरी नगरपालिका क्षेत्र भित्र रहेका दुई क्याम्पस महाकाली बहुमुखी क्याम्पस र रामपुर बहुमुखी क्याम्पसमा भने अखिल क्रन्तिकारीले प्यानल सहित जित हासिल गरेको छ ।
दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पसमा नेवि संघका सुवास नेगी सहित पुरै प्यानल विजयी भएको छ । सचिवमा पुजा कुमारी साउँद, कोषाध्यक्षमा वर्षा बुढा क्षेत्री, सदस्यहरुमा सेजल शर्मा, प्रीतम जोशी र कविता पुजारा विजयी भएका छन् ।
बेलडाँडीको रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेवि संघका मोहन जैशीको प्यानलै विजयी भएको छ । सचिवमा विनिता साउँद, कोषाध्यक्षमा शर्मीला जोशी सदस्यहरुमा नेरन्द्र उपाध्याय, राम बहादुर दमाई र धनु उपाध्याय विजयी भएका छन् ।
बैलौरीको महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रन्तिकारीका दिपक चौधरीको प्यानलै विजयी भएको छ । नेवि संघका महेन्द्र भाटलाई ३५ मतले पछि पार्दै अखिलका चौधरीले जित हासिल गरेका हुन् । सचिवमा लक्ष्मी वडायक, कोषाध्यक्षमा दब्बोरा नेपाली सदस्यहरूमा हिरा कुँवर, जीवन राना, जयन्ती लुहार, सम्झना चौधरी र हेमन्ती राना विजयी भएका छन् ।
त्यस्तै बेलौरी–८ कलकत्तामा रहेको रामपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीकी रविना राना विजयी भएकी छन् ।
जम्मा १४ जना विद्यार्थीहरू रहेको उक्त क्याम्पसमा १३ जनाले मतदान गरेका थिए । अखिलकी रानाले ८ मत प्राप्त सहित जित हासिल गरेकी हुन् ।
पुनर्वास स्थित जनता क्याम्पसको स्ववियु निर्वाचनमा नेवि संघका विकास खड्काले सभापतिमा प्यानल सहित जित हासिल गरेका छन् । बहुदलीय प्रजातन्त्र स्थापना काल देखि नै कम्युनिष्ट गढका रुपमा रहेको पुनर्वासमा पहिलो पटक नेविसंघले जित हासिल गरेको हो ।
उक्त क्याम्पसको सचिवमा एकिन्द्र सिंह ठकुरी, कोषाध्यक्षमा जानकी कुमारी पाध्या सदस्यहरुमा सरिता ऐडी, पुजा बिष्ट र करुणा लुहागन नेवि संघकाट विजयी भएका छन् ।
त्यस्तै कृष्णपुरको नगरपालिकाको गुलरिया स्थित कञ्चन बहुमुखी क्याम्पसमा नेविसंघका सुनिल ऐरको पुरै प्यानल विजयी भएको छ । सभापतिमा ऐर, सचिवमा धनबहादुर कुवँर, कोषाध्यक्षमा भावना कार्की सदस्यहरुमा पार्वती भट्ट, गीता कुमारी बोहरा, खेमराज भट्ट, निर्मला धामी र यशोदा खड्का विजयी भएका छन् ।
दानेश्वर हरि बहुमुखी क्याम्पस विवादका कारण निर्वाचन हुन नसकेको निर्वाचन समितिले सुचना मार्फत जनाएको छ । महेन्द्रनगर सदरमुकाममा रहेका सिद्धनाथ विज्ञान क्याम्पस, कञ्चन विद्या मन्दिर सामुदायिक कलेज, जनज्योति क्याम्पस, घटाल, उदय सरस्वती, वारिधी, बालजागृति लगायतका क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । यद्यपी सहमति पश्चात मिति तय गरेर निर्वाचन तयारीमा विद्यालय प्रशासन र विद्यार्थी जुटेका छन् ।