कृष्णपुरमा नसर्ने रोग पहिचान अभियान सुरु, घरदैलोमा उपचार सेवा उपलब्ध

प्रकाशित:

 महेन्द्रनगर । कृष्णपुर नगरपालिका, सुदूरपश्चिम प्रदेशले ‘नागरिकसँग मेयर’ कार्यक्रम अन्तर्गत नसर्ने रोग पहिचान र उपचार अभियान सुरु गरेको छ। २०७९/०८० र २०८०/०८१ मा सफलतापूर्वक सम्पन्न भएका पहिलो र दोस्रो संस्करणपछि, यस वर्षको तेस्रो संस्करण आजबाट औपचारिक रूपमा सुरु भएको हो।

नगर प्रमुख हेमराज ओझा, उप–प्रमुख द्रोपती राना, स्वास्थ्य शाखा प्रमुख रतन विष्ट, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र प्रसाद भट्ट र अन्य जनप्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। स्वास्थ्य शाखा प्रमुख विष्टका अनुसार यसअघि ५० हजार नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो र यो संस्करणमा ७५ हजार जनसंख्या समेट्ने लक्ष्य राखिएको छ।

यस अभियान अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मृगौला रोगजस्ता नसर्ने रोगहरूको पहिचान गरी समयमै उपचार गरिनेछ। नागरिकहरूले रगतमा चिनीको स्तर परीक्षण, रक्तचाप मापन, मृगौला रोग जाँच, शरीर तौल र उचाइका आधारमा द्यःक्ष् मापन गर्न सक्नेछन्। घरदैलोमा पुगेर स्वास्थ्य परामर्श र उपचार सेवा पनि प्रदान गरिनेछ।

कार्यक्रममा नगर प्रमुख हेमराज ओझाले नगरपालिकाले जनताको स्वास्थ्य, शिक्षा, सरसफाइ र रोजगारीजस्ता प्रमुख समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “स्वास्थ्य सेवामा सुधार ल्याएर सबैलाई सहज पहुँच दिलाउने हाम्रो प्रमुख लक्ष्य हो। हामी गाउँ–गाउँ पुगेर नागरिकहरूको समस्या समाधान गर्नेछौँ।”

उप–प्रमुख द्रोपती रानाले महिला सशक्तिकरण, स्वरोजगार र बालबालिकाको शिक्षा जस्ता क्षेत्रमा नगरपालिका सक्रिय रहेको बताइन्। उनले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई थप सक्रिय बनाउने र घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने योजना अघि बढाइएको जानकारी दिइन्।

नगर प्रमुख र उप–प्रमुखले नागरिकहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको लाभ लिन स्वास्थ्य अभियानमा सहभागी हुन आग्रह गरेका छन्। नगरपालिका स्तरबाट यस किसिमको स्वास्थ्य अभियान सञ्चालन हुँदा स्थानीय बासिन्दाले समयमै स्वास्थ्य परीक्षण गराउन सक्ने भएकाले अभियान प्रभावकारी हुने विश्वास गरिएको छ।

कृष्णपुर नगरपालिका, भूगोल र जनसंख्याको हिसाबले जिल्लाको सबैभन्दा ठूलो नगरपालिका हो र भीमदत्त नगरपालिकापछि दोस्रो स्थानमा रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार