त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ । त्रिविका आंगिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी संगठनले आफ्नो संघ, संगठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए।

‘विद्यार्थी संगठनले आ–आफ्नो संगठनको नाम निर्वाचनका लागि दर्ता गराएका छन्,’ उनले भने, ‘विगतभन्दा धेरै क्याम्पसमा यसपटक निर्वाचन हुन्छ ।’निर्वाचन कार्यतालिकाअनुसार भोलि फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गरिनेछ ।

त्रिविले मतदान आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ ।अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचनका लागि सबै क्याम्पसमा आफ्नो संगठनको मनोनयन गरिएको जानकारी दिए।यस्तै, नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवालले पनि सबै क्याम्पसमा संगठनको नाम दर्ता गराइएको बताए ।

अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव रोशन मगरले देशभर नै निर्वाचन हुने क्याम्पसमा संगठन दर्ता गरिएको जानकारी दिए। यसअघि त्रिविले ‘स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका’ आचारसंहिता जारी गरिसकेको छ । चैत ५ गते एकैदिन देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु निर्वाचनमा हुनेछ ।निर्वाचनमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।