काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध सरकारले नै भ्रम फैलाएको मेयर बालेन्द्र शाहले आरोप लगाएका छन् । सरकारले प्रशासकीय अधिकृत नपठाएको विषयमा महानगरलाई नै दोष दिन खोजेपछि उनले यस विषयमा ६ बुँदामार्फत प्रस्ट पार्दै प्रधानमन्त्री केपी ओलीमाथि समेत आक्रोश व्यक्त गरेका हुन् ।

जति भ्रम फैलाए पनि सुशासनका लागि आफू नझुक्ने उनको भनाइ छ । ‘जति भ्रम फैलाए पनि हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन ।

अहिलेका लागि देशमा आवश्यक सबैभन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो,’ उनले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुशासनका लागि जोसँग जुध्नुपरे पनि तयार छु, तर सम्झौता गर्दिनँ । सुशासन कायम गरेरै छोड्छु ।’

पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गर्न उनले प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । महानगरकै गल्ती देखाउने गरी भ्रम फैलाइएको भन्दै उनले त्यस विषयमा खण्डन पनि गरेका छन् । भ्यु टावरको नक्सा पास, महानगरमा प्रशासकीय अधिकृत नटिकेको, महानगरपालिकाका प्रशासकीय अधिकृत जान नचाहेको, निमित्त तोक्ने अधिकार, छानबिन रिपोर्ट लुकाएको तथा मन्त्रालयसँग समन्वय नगरेको विषयमा उनले प्रस्ट पारेका हुन् ।
बालेनले भनेका छन्, ‘कहिलेदेखि नक्सापास मेयरले गर्न थाले रु सामान्य कानुनको ज्ञान राख्नेले पनि भन्न सक्छ कि यसको अधिकार मेयरसँग हुँदैन ।’ कानुन मिचेर तत्कालीन प्रशासकीय अधिकृत सरोज गुरागाईंले नक्सापास गरेको भन्दै महानगरपालिकाले उनलाई जिम्मेवारीबाट हटाएर छानबिन थालेको थियो । जुन विषयमा मेयरकै कमजोरी रहेको भन्ने आरोप लागेपछि यस विषयमा उनले प्रस्टीकरण दिएका हुन् ।
महानगरपालिकामा प्रशासकीय अधिकृत जान नचाहेको भनेर सरकारबाटै भ्रम फैलाइनु लज्जास्पद, लाचार र गैरजिम्मेवारी भएको उनको भनाइ छ । यसले सरकारले कर्मचारीलाई आवश्यकताअनुसार काममा लगाउन नसक्ने रहेछ भन्ने देखिएको उनको भनाइ छ ।
‘अहिले कर्मचारी जान मान्दैनन् भन्दै राजधानीको महानगरमा कर्मचारी पठाउन नसक्ने सरकारले भोलि दंगाग्रस्त क्षेत्रमा सिडिओ जान मानेनन् भनेर पठाउन नसक्ला, अपराध रोक्न पुलिस जान सकेन भनेर पठाउन नसक्ला’ उनले प्रश्न गरेका छन्, ‘आफ्नो कर्मचारीमा नियन्त्रण नभएको, कर्मचारीको विश्वासमा यतिसम्म गिरेको सरकारले समृद्धि ल्याइदिन्छ भनेर हामीले पत्याइदिनुपर्ने ?