ब्रह्मदेवमा ९ किलो चरेशसहित २ जना पक्राउ, प्रहरीमाथि हातपात गरेर अर्का फरार

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव जिरो प्वाइन्टबाट चरेशसहित दुई जना पक्राउ परेका छन्।

मंगलबार बिहान सशस्त्र प्रहरीको बिओपी नजिकबाट ९ किलोग्राम भन्दा बढी चरेशसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बझाङको छबिसपाथीभेरा गाउँपालिका–२ का ३५ वर्षीय महेन्द्र बहादुर रोकाया र ४२ वर्षीय अमर बहादुर रोकाया रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी निरीक्षक डम्बरदत्त भट्टका अनुसार तीन जना चरेश बोकेर भारततर्फ गइरहेका थिए।

ईलाका प्रहरी कार्यालय ब्रह्मदेवका प्रहरी नायव निरीक्षक दिपेन्द्र चन्दको नेतृत्वमा खटिएको टोलीले शंका लागेर जाँच गर्ने बेला उनीहरुको साथमा चरेश फेला परेको हो।

उनीहरुले शरीरमा चरेश बाँधेर बाहिरबाट ज्याकेट लगाएर लुकाएका थिए। बझाङबाट चरेश लिएर आएका उनीहरु भारततर्फ गइरहेको खुलेको छ।

जाँच गर्ने क्रममा चरेश बोकेको समूहमा रहेका एक जनाले प्रहरीमाथि हातपात गरेर भारततर्फ फरार भएका छन्।

प्रहरीमाथि हातपात गर्ने बझाङको छबिसपाथीभेरा गाउँपालिका–२ का ४३ वर्षीय दीपक भनिने रामबहादुर ऐरीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

हातपातबाट घाइते प्रहरीलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल ल्याइइको प्रहरीले जनाएको छ। चरेशसहित पक्राउ परेका दुई जनामाथि अनुसन्धान भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार