धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम चाँडै अघि बढ्ने बताएका छन् ।

सुक्खा बन्दरगाह निर्माण हुने क्षेत्रमा पर्ने रुख कटानको आदेश भइसकेकाले छिट्टै निर्माणको काम अघि बढ्ने मन्त्री भण्डारीले बताएका हुन् ।

प्रेस चौतारी नेपाल कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले सुक्खा बन्दरगाह क्षेत्रमा पर्ने रुख कटान गरिसकेपछि भारतीय पक्षले ठेक्का आह्वान गर्ने सहमति भइसकेको बताए ।

‘नेपाल र भारतका वाणिज्य सचिवस्तरीय संयन्त्र-आईजीसीको बैठकमा नेपालले रुख कटानको काम सम्पन्न गरेपछि लगत्तै भारतीय पक्षले ठेक्का आह्वान गर्ने सहमती भएको छ,’ भण्डारीले भने, ‘हामीले रुख कटानको आदेश पाइसकेकाले चाँडै काम सुरु हुन्छ । त्यसपछि भारतले ठेक्का लगाएर सुक्खा बन्दरगाह निर्माणको काम अघि बढाउँछ ।’
आईजीसी बैठकमा नेपाल र भारतबीच बैतडीको झुलाघाट, डडेल्धुराको शीर्षमा मोटेरेबल पुल निर्माण गर्ने सहमति गरिसकेकाले चाँडै निर्माण गर्नेगरी सम्झौता भएको उनले बताए । यस्तै कैलालीको गौरीफन्टा नाकालाई स्तरोन्नति गरेर मुख्य भन्सार नाकाका रूपमा विकास गर्ने सहमति पनि भएको उनले बताए ।
‘पलियादेखि दुधुवा नेसनल पार्कको बाटो स्तरोन्नति गरेर गौरीफन्टा नाकामा मुख्य भन्सार बिन्दु बनाउने, त्यसका लागि आवश्यक पर्ने क्वारेन्टाइन लगायतका संरचना निर्माण गर्ने सम्झौता भइसकेको छ,’ भण्डारीले भने, ‘दोधाराचाँदनी र गौरीफन्टा नाकालाई व्यवस्थित गर्न रेल सेवाको अध्ययन कार्य अघि बढाउने सहमति पनि भारतीय पक्षले गरेको छ ।’