पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुरमा शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने एक विद्यार्थीको आँखा फुटेको छ ।
प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा यूकेजीमा पढ्ने ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको हो ।
यो घटना गत मंसिर १८ गतेको भए पनि प्रहरीमा ढिलोमात्रै उजुरी परेपछि सार्वजनिक भएको हो । पुस १९ गते मात्र प्रहरीले शिक्षिकाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थियो । अहिले ती शिक्षिका फरार रहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मंसिर १८ गते कक्षामा दुई विद्यार्थी बीचको झगडा छुट्याउने क्रममा शिक्षिका चौधरीले प्लास्टिकको लठ्ठीले हानेकी थिइन् । त्यहीक्रममा बालक प्रशान्तको आँखामा चोट लागेको विद्यालयका प्रिन्सिपल सुजित कुमार गुप्ता बताउँछन् ।
प्रिन्सिपल गुप्ता भन्छन्, ‘मिसले पढाइरहेको बेला दुईजना विद्यार्थी झगडा गरिरहेको अवस्था थियो । त्योबेला बोर्डमा प्रयोग गर्नका लागि राख्नु भएको प्लास्टिकको पाइप थियो कि के थियो त्यसले झुक्किएर लागेको भनेर उहाँले हामीलाई भन्नु भएको छ ।’
त्यसपछि विद्यालयले नै प्रशान्तलाई नजिकैको गोपीगञ्ज बजारमा उपचारका लागि लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि अभिभावकहरुले परासी, रणअम्बिका आँखा अस्पताल भैरहवा हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पताल पुर्याए । तर चिकित्सकले बालकको नानी फुटेकाले आँखा देख्न नसक्ने बताएको प्रशान्तका बुवा नरेन्द्रप्रसाद चौधरी बताउँछन् ।
‘तिलगंगामा १९ गते अप्रेशन भयो । डाक्टरले देख्न सक्दैन, जीवनभरी गाह्रो हुन्छ उसलाई भन्नु भएको छ,’ नरेन्द्रले भने, ‘अझै दुईवटा अप्रेसन गर्नुपर्छ रे ।’
अभिभावकका अनुसार वायाँ आँखाको चोटले दायाँ आँखा पनि राम्रोसँग खोल्न र हेर्न मिल्दैन । चिकित्सकले एक वर्षसम्म उपचार गर्नुपर्ने भनेकाले बेलाबेलामा अस्पतालमा फलोअपमा आउन भनेको बुवा नरेन्द्र बताउँछन् ।
‘आँखाको पर्दामा ब्लड जमेको छ रे । त्यो अप्रेसन गरेपछि फेरि अर्को एउटा अप्रेसन गर्नुपर्छ रे,’ उनले भने, ‘एक वर्षसम्म उपचार गराइराख्नुपर्छ । हप्ता–हप्तामा फलोअपमा आउन भन्नु भएको छ ।’ यो चोटपछि छोरोले टाउको पनि दुख्छ भन्दै रोइराख्ने उनले बताए ।
काठमाडौंमा बालकको उपचार गराएर फर्किएपछि बाबु नरेन्द्र चौधरीले पुस १६ गते उपचारका कागजातसहित इलाका प्रहरी कार्यालय बर्दघाटमा शिक्षिका सन्जुविरुद्ध उजुरी दिएका छन् । त्यसलगत्तै अनुसन्धान प्रक्रिया अघि बढाएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले बताए ।
डिएसपी बोहराले भने, ‘अभिभावकहरु विद्यालयसँगै छलफल गर्दै, उपचार गराउँदै गर्नु भएको रहेछ, त्यसैले प्रहरीमा ढिलोमात्रै उजुरी आयो । त्यसपछि अदालतमा मुद्दा दर्ता गरी कानुन बमोजिम अनुसन्धान प्रक्रिया अघि बढाएका छौं ।’
तर यो समाचार तयार पार्दासम्म प्रहरीले ती शिक्षिकालाई नियन्त्रणमा लिएको छैन । ‘ती शिक्षिकाको घर गाउँमा खोजतलास गर्दा फेला पार्न सकेका छैनौं । फेला पार्नासाथ नियन्त्रणमा लिन्छौं,’ प्रहरी प्रवक्ता बोहराले भने ।