सल्लेरी। सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माप्य दूधकोशी गाउँपालिका वडा नम्बर १ का अन्दाजी ४० वर्षका नवराज खालिङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार स्थानीय बलबहादुर नेवारको गोठमा आगलागी हुँदा गए राति १२ बजे खालिङको ज्यान गएको हो। खालिङ बेवारिसे अवस्थामा बस्दै आएका थिए।
बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाका विषयमा थप अनुसन्धानका लागि बिहान प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे, प्रहरी नायब उपरीक्षक घिमिरे र चिकित्सक सहितको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।