कृष्णपुरमा १५औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता, नगद पुरस्कारका साथ उत्कृष्ट खेलाडीलाई सम्मान

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणी स्थित सरस्वती माध्यामिक विद्यालयको प्राङगणमा १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता २३ पुषदेखि आयोजना हुने तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता सञ्चालनका लागि नगरका विभिन्न सरोकारवाला संस्थाले  तयारी गरिरहेको मेयर हेमराज ओझाले जानकारी दिए। यस वर्षको प्रतियोगिता गत वर्षको गुलरिया स्थित कृष्ण माध्यामिक विद्यालयको स्थानमा, पश्चिमी कृष्णपुरको वाणी क्षेत्रको सरस्वती माध्यामिक विद्यालयमा आयोजना हुन लागेको हो।

मेयर ओझाले भने, ूनगरको लक्ष्य विद्यालयस्तरमा खेलकुदको विकास गर्नु हो। हामीले नगरका विभिन्न भूगोलमा खेलकुद प्रतियोगिता आयोजना गर्दै विद्यालयहरूको खेलकुद क्षमता वृद्धि गर्ने उद्देश्य राखेका छौँ। १५औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता कृष्णपुर नगरपालिका भित्र पर्न २६ विद्यालयहरूले सहभागिता जनाउने छन्। सबै विद्यालयहरू आफ्ना उत्कृष्ट खेलाडीहरूको छनोट कार्यमा व्यस्त छन्।

यस्तो स्तरिय प्रतियोगिताको आयोजना मात्र होइन, कृष्णपुर नगरपालिकाले खेलकुद संरचना निर्माणमा पनि ध्यान दिएको छ। प्रत्येक विद्यालयमा खेल मैदान निर्माण गर्ने योजना अगाडि बढाइएको छ। यो केवल प्रतियोगिता मात्र होइन, यो हाम्रो किशोर र युवा पुस्तालाई खेलकुद मार्फत कुलतबाट बचाउने कार्यक्रम पनि हो,मेयर ओझाले भने।

मेयर ओझाले भने, उत्कृष्ट प्रदर्शन गर्ने खेलकुद खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरिने छ। पुरस्कार स्वरूप, प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्रदान गरिनेछ। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाको प्रमुख आथित्यमा प्रतियोगिता उद्घाटन गरिनेछ र यस अवसरमा नगरका खेलकुद क्षेत्रमा योगदान पुर्याउने शिक्षक, पूर्व पदाधिकारी र खेलकुद विकासका लागि कार्यरत व्यक्तिहरूलाई सम्मान गरिनेछ।

सामाजिक र स्थानीय स्तरमा ठूलो उत्साहको बीचमा आयोजना हुने यस प्रतियोगिताले कृष्णपुर क्षेत्रको खेलकुद क्षेत्रमा नयाँ उचाइलाई छुने अपेक्षासहित, वाणी गाउँलाई खेलकुदको हब बनाउने उद्देश्य राखिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार