महाकाली सिँचाइ मूल नहरको सडकमै पार्टी प्यालेस !

प्रकाशित:

  • सडक अतिक्रमण गर्दै बनाउन खोजिएको थियो भवन फराकिलो, विवादपछि रोकियो 

कञ्चनपुर। कञ्चनपुरमा महाकाली सिँचाइको मूल नहरको सडक अतिक्रमण गरेर पार्टी प्यालेस बनाउन खोजिएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन्।

भीमदत्त नगरपालिका–६ ऐंठपुरमा जल उपभोक्ता संघ केन्द्रीय समितिको स्वामित्वमा रहेको मूल नहरको सडक अतिक्रमण गरेर पार्टी प्यालेस निर्माण गर्न खोजिएको भन्दै स्थानीयले विरोध जनाएका छन्।

सिँचाइको मूल नहरको सडकमा कुनै पनि संरचना बनाउन पाइदैन। नहर सफाई गर्नका लागि उपकरण लैजाने सडक खुला छोड्नु पर्ने महाकाली सिँचाइ व्यवस्थापन समितिका सूचना अधिकारी इन्जिनियर सालिक भुसाल बताउँछन्।

‘क्यानल ब्याङ्कलाई खुला छाड्नुपर्छ। बेला बेलामा नहर सफाइ गर्न स्काभेटर टिप्पर लैजान पर्ने हुन्छ। त्यहाँ संरचना हुँदा त्यो लैजान सकिदैन,’ उनले भने।

सिँचाइको मूल नहर निर्माणताका ऐंठपुरमा वर्षौअघि संरचना निर्माण गरिएको थियो। स्थानीयका अनुसार सुरुआतमा ती संरचनामा स्टोर राखिएको थियो। यस्तै, मूल नहर निर्माणमा काम गर्ने कामदार तथा ठेकेदारहरु पनि त्यहीँ बस्थे।

त्यसपछि उक्त संरचना व्यक्तिगत प्रयोजनका लागि जल उपभोक्ता संघले लिजमा दिन थाल्यो। सुरुमा स्थानीय कृष्ण खरेलले ५ वर्षका लिजमा लिए। सम्झौताअनुसार मासिक १५ हजार उनले भाडा तिर्थे। खरेलसंगको सम्झौता सकियो।

उनले ५० प्रतिशत भाडा घटाएर फेरि २ वर्षका लागि संरचना लिजमा लिन खोजे। संरचना जीर्ण भएकोले मर्मत सम्भारमा खर्च लाग्ने हुनाले भाडा घटाए लिजमा लिन मञ्जुर रहेको भन्दै उनले संघमा निवेदन नै दिएका थिए।

तर संघले भाडा घटाउन मानेन। त्यसपछि संघले लिजका लागि टेन्डर आह्वान ग-यो। टेन्डर प्रक्रियाबाट सो संरचना ५ वर्षका लागि स्थानीय व्यवसायी पुरुषोत्तम अवस्थीले पाए।

अवस्थीले उक्त संरचनालाई फराकिलो बनाउन मूल नहरको सडक नै अतिक्रमण गर्न खोजे। पार्टी प्यालेस बनाउने उद्धेश्यले साविकको संरचनालाई फराकिलो बनाएर सडक अतिक्रमण गर्न खोजेपछि स्थानीयले विरोध गरे।

महाकाली सिँचाई व्यवस्थापन कार्यालयले स्थलग अनुगमन गरेर सडक अतिक्रमण गरेको पाइएपछि पर्खाल हटाउन लगाएको थियो।

स्थानीयको चर्को विरोधपछि अवस्थीले फराकिलो बनाउने कार्य रोकेका छन्। उनले साविककै संरचनालाई मर्मत गरिरहेका छन्। ‘सबै प्रक्रिया पु-याएर काम गरिरहेका छौँ। पुरानै ईटालाई प्रयोग गरेर संरचनालाई मर्मत गरेका हौँ,’ उनले भने, ‘लिजमा लिएर पुरानो भवन मर्मत गर्न खोजेका थियौँ। बाङ्गो हुनाले भवन सीधा बनाउन थोरै फराकिलो बनाइयो।’

मूल नहर अतिक्रमण गरेर संरचना निर्माण भए लिज सम्झौता तोड्ने जल उपभोक्ता संघ केन्द्रीय समितिका उपाध्यक्ष सुरेन्द्र बहादुर चन्दले बताए। जल उपभोक्ताले अवस्थीलाई प्रयोजन नखुलाएरै लिजमा दिँदा उनले पार्टी प्यालेस बनाउन खोज्दा नहरको जमिन अतिक्रमण हुने भन्दै स्थानीय विरोधमा छन्।

जीर्ण भवन भाडामा दिएर सदुपयोग हुने र आयस्रोत जोडिने भएकाले लिजमा दिएको चन्दले बताए। ‘भवन पुरानो भइसकेको थियो। पुरानो सम्झौता पनि सकियो। जीर्ण भवन सदुपयोग भएर आयस्रोत होला भन्ने उद्धेश्यले लिजमा दिएका हौँ,’ उनले भने, ‘सडक अतिक्रमण गरेर संरचना निर्माण गर्न पाइदैन। त्यसो भए हामी सम्झौता रद्ध गर्छौ।’

जल उपभोक्ताले नहरको सडकमा संरचना बनाएर लिजमा दिनु गलत भएको स्थानीय माधव प्रसाद भट्ट बताउँछन्। ‘जल उपभोक्तले सुरुदेखि नै भाडामा दिएर गलत गरेको छ,’ उनले भने, ‘सबै संरचना भत्काएर सडक खुला गर्नुपर्छ।’

सरकारी तथा सार्वजनिक जमिनमा भएको अतिक्रमण हटाउने सर्वदलीय बैठकले केही महिनाअघि निर्णय गरेको थियो। जसअनुसार अभियान नै चलाएर महेन्द्रनगरको केही स्थानको अतिक्रमण खाली नै गराइएको थियो।

सरकारी तथा सार्वजनिक जमिनको अक्रिमण हटाउने अभियान चलिरहेकै बेला सिँचाइको मूल नहरको सडकमै पार्टी प्यालेस खोल्न थालिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार