प्रहरीका भान्सेको गोली हानी हत्या: इन्स्पेक्टरसहित तीन जना पक्राउ

प्रकाशित:

वीरगन्ज। बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्याका घटनामा अनुसन्धान ‘न्यारो डाउन’ तर्फ गएको प्रहरीले दाबी छ । प्रहरीको भान्से रुम्बालाई गोली प्रहार गरी हत्या गरिएको घटनामा तीन जना पक्राउ परेसँगै प्रहरी अनुसन्धान साँघुरिँदै गएको हो ।

प्रहरीको विशेष टोलीले तीनै जनासँग गरेको सोधपुछ र बयान तथा घटनासँग सम्बन्धित सबुत प्रमाण फेला परेपछि अनुसन्धान साँघुरिएको बारा प्रहरी प्रमुख महेन्द्र खडकाले बताए । उनका अनुसार प्रहरीको विशेष मेहनतका कारण एक सातामै हत्याका दोषी लगभग पहिचान गरिएको हो ।

व्यक्तिगत रिसिइबी तथा आर्थिक लाभका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको उनी बताउँछन् । उनले भने, ‘अझ पनि सोधपुछ तथा बयान लिने काम भइरहेको छ, त्यो सकिएपछि हत्याका वास्तविक कारण खुल्नेछ । सकभर भोलि सबै सबुत प्रमाण तथा कनेक्सनसहितको विवरण सार्वजनिक गर्ने तयारी गरेका छौँ ।’

राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीसहित तीन जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनासँग जिल्ला प्रहरी कार्यालय बारामा राखेर सूक्ष्म अनुसन्धान चलिरहेको छ ।

प्रहरीको हत्यामा संलग्न अन्य दुई जना पनि बारा जिल्लाको इनर्वा सिराको रहेको प्रहरीले जानकारी दिएको छ । यद्यपि, बाँकी दुई जनाको नाममा भने अनुसन्धान जारी नै रहेकोले प्रहरी अझै गोप्य राखेको छ ।

गत शनिबार बारामा प्रहरीका भान्से रुम्बालाई गोली हानी हत्या गरिएको थियो । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–११ स्थितको सडकखण्डमा उनको शव कारमा बेवारिसे अवस्थामा फेला परेको थियो ।

बागमती प्रदेशको ०१–०२८–च– ७६१६ नम्बरको गाडी लिएर कलैया जानका लागि उनी निस्किएका थिए, तर त्यसको भोलिपल्ट मृत भेटिएका थिए । इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भएका रुम्बा हाल सिमरा एयरपोर्टमा कार्यरत थिए ।

ताजा समाचार

सम्बन्धित समाचार