बैतडी। सुदूरपश्चिम प्रदेशका थप २ जना खेलाडीले प्रोत्साहनस्वरुप एक वर्ष मासिक पारिश्रमिक पाउने भएका छन्।

सुदूरपश्चिम प्रदेशक क्रिकेट संघले प्रदेशबाट नियमित रुपमा राष्ट्रिय प्रतियोगिता खेलिरहेका एकजना महिला र एकजना पुरुष खेलाडीलाई मासिक १५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम दिने भएको हो।

मासिक रुपमा प्रोत्साहन रकम पाउनेमा बैतडीका दीपक बोहरा र बझाङकी अनु कडायत रहेका सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए। प्रदेश क्रिकेट संघले निकट भविष्यमै अन्य खेलाडीलाई पनि प्रोत्साहन भत्ता दिने तयारी गरिरहेको छ।

एमबी ग्रुप डडेल्धुराको प्रायोजनमा दुवै खेलाडीले मासिक रुपमा प्रोत्साहन रकम पाउनेछन्। डिसेम्बर १ देखि लागू हुने गरि दुवै खेलाडीलाई मासिक रुपमा प्रोत्साहन रकम दिने गरि प्रायोजन सम्झौता भएको एमबी ग्रुपका प्रबन्धकले बताए।
सम्झौता भएसँगै एमबी ग्रुपले एक वर्षसम्म दीपक र अनुलाई मासिक रुपमा १५ हजारका दरले प्रोत्साहन रकम प्रदान गर्नेछ।
दीपक र अनुले सुदूरपश्चिमबाट निकैवटा राष्ट्रिय प्रतियोगिता खेल्नुका साथै उमेर समूहका अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट पनि सहभागिता जनाइसकेका छन्।
यसअघि नेपाल क्रिकेट संघ ९क्यान०बाट मासिक रुपमा सुदूरपश्चिम प्रदेशका ५ खेलाडी प्रोत्साहन रकमका लागि छानिएका थिए। सुदूरपश्चिम प्रदेश क्रिकेट संघले ३ जना पुरुष र २ जना महिला गरि ५ जना खेलाडी छनोट गरेको थियो।
क्यानबाट मासिक प्रोत्साहन रकम पाउनेमा सुदूरपश्चिम प्रदेशका पुरुष खेलाडीतर्फ खडक बोहरा, किरन ठगुन्ना, शेर मल्ल र महिला खेलाडीतर्फ सावित्री धामी र स्नेहा महरा रहेका छन्।