खोटाङ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६, धिप्लुङका २१ वर्षीय सुमन खड्कालाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा सोही ठाउँका ३५ वर्षीय देवान राई पक्राउ परेका छन् ।

४ मंसिरमा आफ्नो पसलबाट पैसा चोरेको आरोप लगाई राईले सुमनलाई गाली बेइज्जतीसँगै निर्घात कुटपिट गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सञ्जु कार्कीले जानकारी दिए ।

१७ मंसिरमा खड्काका परिवारले किटानी जाहेरी दिएका थिए । खड्काले आफूमाथि राईले लगाएको आरोप र गाली बेइज्जती सहन नसकी ९ मंसिरको राति घरबाट २ सय मिटरको दूरीमा रहेको दुधिलोको रूखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

खड्काले आफूले आत्महत्या गर्नुको मुख्य कारण पैसा चोरेको दोष लगाई गाली बेइज्जती गर्ने देवान राई रहेको सुसाइड नोटमा उल्लेख गरेको पीडितका दाजु गणेश खड्काले जानकारी दिए ।
राईको कुटाइबाट मृतक सुमनको शरीरका विभिन्न भाग र नलीखुट्टामा गहिरो चोट रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मोहन बोहोराका अनुसार मृतक खड्कालाई कुटपिट गरेको राईले स्वीकार गरेका छन् ।