काठमाडौं । असल चालचलन भएको भन्दै प्यारोलमा छाडिएका कैदी नै लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–४ का विजय साउदलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले १२ कात्तिकमा ३ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेपछि प्यारोलबाट खारेज गर्ने निर्णय भएको कैलाली कारागारका जेलर दीपक पाण्डेले बताए ।
‘उहाँलाई फिर्ता बोलाउने निर्णय भएको पत्र आएपछि हामीले बुझ्दा उहाँ अर्को लागुऔषध कारोबारमा संलग्न भएर पक्राउ पर्नुभएको भेटियो’, पाण्डेले भने । सायद पहिले पनि लागूऔषध कारोबारकै कसुरमा कारागारमा थिए ।
प्रहरीले उनीसहित दुई जनालाई ६ फागुन २०७६ मा ३ ग्राम ४१० मिलिग्राम खैरो हेरोइनसहित समातेको थियो ।
फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन २०७४ मा असल चालचलन भएर दुई तिहाइभन्दा बढी सजाय पूरा गरिसकेका कैदीलाई प्यारोलमा छाड्न सकिने व्यवस्था छ । त्यही अनुसार, २५ पुस २०८० को प्यारोल बोर्ड बैठकले साउदलाई छाड्ने निर्णय गरेको थियो ।
प्यारोलमा कसलाई छाड्ने भन्नेबारे निर्णय गर्न महान्यायाधीवक्ताको अध्यक्षतामा प्यारोल बोर्ड रहने व्यवस्था छ । बोर्डमा गृहसचिव सदस्य, दुई मनोचिकित्सक, एक एआईजी, एक अपराधशास्त्री तथा वरिष्ठ अधिवक्ता, कानून मन्त्रालयको सचिव र कारागार व्यवस्थापन विभागका महानिर्देशक सदस्य सचिव रहने व्यवस्था छ ।
बोर्डले आमन्त्रित सदस्यमा अन्य व्यक्तिलाई आमन्त्रण गर्न सक्ने व्यवस्था छ । डडेल्धुरा कारागारमा रहँदा प्यारोलमा छुटेपछि साउद कैलालीस्थित आफ्नो घर गएका थिए । कैलालीमै लागु औषधसहित पक्राउ परेका उनी अहिले फेरि जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा छन् ।
उनीसँगै अर्का कैदी जुम्लाको चन्दननाथ नगरपालिका–४ का रवीन मल्ललाई पनि कारागार फिर्ता गराउने निर्णय भएको छ । मल्लसहित ४ जना २०७६ मंसिर १९ गते दैलेखको गुरास गाउँपालिका–४ स्थित रानीमत्ता चेकपोष्टबाट पक्राउ परेका थिए । त्यतिबेला उनीबाट ११ ग्राम ५० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो ।
दैलेख कारागारमा रहेका उनी प्यारोलमा छुटेर जुम्लास्थित घरमा पुगेका थिए । तर प्यारोलमा रहँदा पालना गनुपर्ने शर्त पालना नगरेपछि उनलाई फिर्ता गराउने निर्णय प्यारोल बोर्ड बैठकले गरेको हो ।
दैलेख कारागारका जेलर लिलु गिरीका अनुसार, उनी निरन्तर सम्पर्कमा रहनु पर्नेमा तारेख उल्लंघन गरेर सम्पर्कविहीन रहे । घर गएका बेला उनी केही समय जुम्ला कारागारको सम्पर्कमा रहे । तर, ६ भदौपछि तारिखमा नआएको जुम्ला कारागारका जेलर गयाप्रसाद पाण्डेले बताए ।
अब उनीहरूले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वय ऐन २०७४ को दफा २९ ९५० बमोजिम बाँकी कैद कारागारमै बसेर भुक्तान गर्नुपर्ने हुन्छ । प्यारोल बसेको अवधि कैद बसेको अवधिमा गणना हुँदैन ।
प्यारोललाई कैद दण्ड प्रणालीमा विकसित पछिल्लो विकल्प मानिन्छ । यसमा कसुरदारले तोकेको कैद सजायको निश्चित (दुई तिहाइ) अवधि भुक्तान गरेपछि बाँकी सजाय असल आचरणमा रही स्वतन्त्र समाजमा बसेर पूरा गर्न पाइन्छ । तर प्यारोलमा छुटेका व्यक्तिले निश्चित सर्त पूरा गर्नुपर्ने भएकाले उनीहरू पूर्णरूपमा स्वतन्त्र भने हुँदैनन् ।
शर्तहरू पालना गरेरनगरेको प्यारोल अधिकृतले अनुगमन गर्ने व्यवस्था छ । असल चालचलन देखिए तोकिएको कैद सजाय भुक्तान गरेको मानिने छ । शर्तहरू उल्लंघन गरेमा कैदमा फिर्ता बोलाउने व्यवस्था छ ।
जन्मकैदको सजाय पाएका, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना वा क्रुर वा अमानवीय व्यवहारसम्बन्धी कसुर, मानवताविरुद्धको अपराध र राज्यविरुद्धको अपराधमा सजाय पाएकाहरूलाई प्यारोलमा राख्न नसकिने व्यवस्था छ । नेपालमा १ कात्तिक २०८० बाट प्यारोल लागु भएको थियो ।