कञ्चनपुर। नेकपा माओवादी केन्द्रले बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीकी उम्मेदवारलाई मत दिन आह्वान गरेको छ।
एकीकृत समाजवादीकी उम्मेदवार जवा शाही छन्। माओवादीकी उम्मेदवार राजुकुमारी विकले एमालेकी उम्मेदवार सुलोचना भण्डारीलाई समर्थन गर्दै मंसिर ५ गते उम्मेदवारी फिर्ता लिएकी थिइन्।
आफ्ना उम्मेदवार नै रिक्त भएपछि माओवादीले नेकपा एकीकृत समाजवादीलाई मत दिनआह्वान गरेको हो। एमालेलाई समर्थन गरेकी राजुकुमारी विक एमालेको चुनाव प्रचारमा खटिएकी छन्।
माओवादीका सुदूरपश्चिम प्रदेश ईन्चार्ज समेत रहेका उपमहासचिव गिरिराजमणि पोखरेलले मंसिर ११ गते पत्र पठाएर एकीकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई भोट हाल्न आग्रह गरेको बताए। उनले आफ्ना उम्मेदवार विकले केन्द्रीय नीतिविपरीत कार्य गरेको बताए।
‘बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा हाम्रो पार्टीको गाउँपालिका समितिले एमालेको उम्मेदवारलाई भोट हाल्न निर्देशन गरेको र माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएकी राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिइ एमालेको चुनाव प्रचारमा सहभागी भएको र संयोजन समितिका सचिवसहित केही जिम्मेवार कार्यकर्ता एमालेको उम्मेदवारलाई समर्थन गरी प्रचारमा हिड्नु पार्टीको केन्द्रीय नीति विपरीत छ,’ पोखरेलले लेखेको पत्रमा उल्लेख छ।
देशभर राम्रो उपस्थिति जनाएको माओवादी केन्द्र बाजुराको सो पालिका उपचुनावमा भने उम्मेदवार विहीन बनेपछि चुनाव अब त्यहाँ कांग्रेस, एमाले, एकीकृत समाजवादीबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ।