न्याय प्रणालीप्रति जनविश्वास अभिवृद्धिका लागि पुनर्वासमा बहुसरोकारवाला न्याय मञ्च सम्पन्न

प्रकाशित:

किशोर तामाङ
पुनर्वास, कञ्चनपुर।

कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित पुनर्वास नगरपालिकामा संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना (A2) अन्तर्गत कानूनी सहायता, जवाफदेहिता र जनकेन्द्रित न्यायका लागि महिला तथा सीमान्तकृत समुदायको सशक्तीकरण विषयक एकदिने बहुसरोकारवाला न्याय मञ्च बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय तहमा न्याय प्रणालीप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै महिला तथा सीमान्तकृत समुदायको न्यायमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा परियोजना कार्यान्वयन गरिरहेको एमपीडीएस (MPDS) का कार्यक्रम संयोजक चन्द्र शर्माले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभयो। उहाँले परियोजनाअन्तर्गत पुनर्वास नगरपालिकामा हालसम्म सम्पन्न भएका गतिविधि, उपलब्धि तथा प्रभावबारे जानकारी दिँदै आगामी दिनमा सबै सरोकारवालाको समन्वय र सहकार्यमा कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अघि बढाइने बताउनुभयो।

कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीले परियोजनाले समुदायमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै यसको कार्यअवधि थप गरी अझ बढी सेवामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास नगरपालिका र एमपीडीएसबीचको साझेदारी प्रभावकारी रहेको उल्लेख गर्दै संस्थाले विशेषगरी अशक्त, असहाय तथा राज्यको पहुँचबाट टाढा रहेका नागरिकका बीचमा पुगेर पुर्‍याएको सेवाको उच्च प्रशंसा गर्नुभयो। उहाँले महिला तथा सीमान्तकृत समुदायको न्यायमा पहुँच सुदृढ बनाउन सञ्चालन भइरहेको परियोजनाले स्थानीय तहमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै आगामी दिनमा पनि नगरपालिकाले आवश्यक सहयोग, समन्वय र साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका सभापति तथा न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख भुलिया कुमारी रानाले एमपीडीएसले नगरपालिकाभित्र सञ्चालन गरेका कार्यक्रमहरू प्रभावकारी र सन्तोषजनक रहेको बताउँदै आगामी दिनमा समेत थप सहकार्य तथा सम्झौतामार्फत परियोजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले कार्यक्रममा सहभागी सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै न्यायमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रमको आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा स्थानीय न्याय प्रणालीसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि, पुनर्वास नगरपालिकाका ११ वटै वडाका वडा सचिव, जनप्रतिनिधि तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा परियोजनाअन्तर्गत हालसम्म सम्पन्न भएका गतिविधि, उपलब्धि तथा प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो।

पुनर्वास नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख भुलिया कुमारी रानको सभापतित्व तथा नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको स्वागत तथा सञ्चालन एमपीडीएसका सहजकर्ता पुष्कर चन्दले गर्नुभएको थियो।

बहुसरोकारवालाको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रमले स्थानीय न्याय प्रणालीलाई थप उत्तरदायी, पारदर्शी, जनमैत्री तथा समावेशी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार