महेन्द्रनगर पुगेर सकियो कांग्रेसको युवा संकल्प यात्रा

प्रकाशित:

कञ्चनपुर। नेपाली कांग्रेसका नेताहरूले मेचीनगरदेखि महेन्द्रनगरसम्म गरेको युवा संकल्प यात्रा सकिएको छ।

गत कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरू भएकोमा यात्रा मंगलबार कञ्चनपुरको महेन्द्रनगर पुगेर समापन भएको हो।

नेताहरू भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, प्रेमिका राना मगरलगायतको अगुवाइमा युवा संकल्प यात्रा भएको हो।

कञ्चनपुरमा कांग्रेस जिल्ला सभापति पदम बोगटीको अध्यक्षमा मंगलबार युवा संकल्प यात्रा भएको थियो। सभापति बोगटीले संकल्प यात्राले युवामा भरोसा, उत्साह र जागरण ल्याएको बताएका थिए।

‘यस्तो यात्राले युवालाई कांग्रेससँग र जनतालाई पार्टीमा जोड्न तथा साझा मुद्दालाई अघि बढाउन सहयोग गर्छ,’ उनले भने।

कांग्रेस झापा सभापति देउमान थेवेले पार्टीको झन्डा यात्राका नेतृत्वकर्ता शाहीलाई हस्तान्तरण गरेर संकल्प यात्रा सुरू भएको थियो।

भ्रष्टाचार उन्मुलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रण, सरकार नागरिकमैत्री हुनुपर्ने, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत दिनुपर्ने, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने जस्ता एजेन्डासहित युवा संकल्प यात्रा भएको थियो।

साथै सहकारी पीडितलाई तत्काल राहत तथा बचत फिर्ता गरिनुपर्ने, उद्यमशीलता, नवप्रवर्तन तथा कृषिमा लगानी वृद्धि गरिनुपर्ने, सहकारी बचत ठगी गर्नेलाई कारबाही गरिनुपर्ने एजेन्डा पनि स‌ंकल्प यात्राको थियो।

मेचीनगरमा मंगलबार भएको कार्यक्रममा नेता भूपेन्द्रजंग शाहीले यात्राका क्रममा सबै क्षेत्रका मानिसहरूसँग संवाद गरेको पनि बताए।

‘युवा संकल्प यात्राका क्रममा विभिन्न जिल्ला पुगेर हामीले पार्टीका साथीहरू र आमजनसमुदायबाट सुझावहरू लियौं, ती सुझाव सभापति शेरबहादुर देउवा र सरकारसँग जोडिएका विषय प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बुझाउँछौं,’ शाहीले भने।

ताजा समाचार

सम्बन्धित समाचार