काठमाडौं। काभ्रेमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।
रोशी गाउँपालिका–३ भञ्ज्याङगाउँ बस्ने ६९ वर्षीया माइली लामाको हत्या गरेको आरोपमा उनका २८ वर्षीय छोरा फुर्साङ लामालाई पक्राउ गरेको हो।
कात्तिक १६ गते अपराह्न सवा ४ बजे माइली आफ्नो घरको भान्सामा मृत भेटिएकी थिइन्।
उनी मृत फेला परेको खबरपछि इलाका प्रहरी कार्यालय मंगलटार र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट टोली खटिएर अनुसन्धान अघि बढाएको थियो।
तालिम प्राप्त कुकुर पनि खटाएर अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले तत्कालै मृतकका कान्छा छोरा फुर्साङलाई पक्राउ गरी सोधपुछ थालेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए।
फुर्साङले कोठामा सुतिरहेकी आमाको सुनको रिङ र नगदको लोभले सिलौटोले हानेर अचेत बनाएको प्रहरीले जनाएको छ।
अचेत बनेकी आमालाई पुनस् आग्लो प्रहार गरी हत्या गरेको आरोप उनीमाथि छ। घटनापछि उनी सुनको रिङ र नगद लिएर फरार भएका थिए। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गर्न जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति पाएको छ।