कञ्चनपुर। बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्मरकी १७ वर्षीया किशोरी बेपत्ता भएको दुई साता भन्दा बढी भइसक्दा पनि अझै उनको अवस्था अज्ञात छ। गत असोज २५ गते बिहानदेखि बेपत्ता किशोरीको अझै अत्तोपत्तो नचलेपछि घटना रहस्यमय बन्दै गएको छ।
उनी हराएको आज १६ दिन बितिसक्दा पनि प्रहरीले कुनै संकेत नपाइएको हो। किशोरीको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए। आफन्तका घर, महाकाली किनार, भारत र नेपाल दुवैतर्फ खोजी गर्दा पनि अहिलेसम्म किशोरी फेला नपरेको उनले बताए।
‘१२ दिन त्यहीँ प्रहरी टोली राखेर खोजी गरियो। तर अझै केही अत्तोपत्तो चलेको छैन,’ उनले भने, ‘किशोरीको खोजी जारी छ।’ किशोरी खोजीमा प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको प्रहरी टोली पञ्चेश्वरमा सक्रिय छ। तर अहिलेसम्म प्रहरीले किशोरीको कुनै सुइँको पाएको छैन।
मोबाइल नबोक्दा सकस
महाकाली किनारको डिम्मर बस्ती भौगोलिक रुपमा निकै विकट छ। त्यहाँ नेपाली नेटवर्क नै काम गर्दैन। भारतीय सीमको प्रयोग गरेर सञ्चार गर्नु पर्ने बाध्यता छ।
बेपत्ता किशोरीले मोबाइल बोक्दिनथिन्। जसले गर्दा प्राविधिक पाटो विश्लेषण गरेर खोजी गर्न नसकिएको प्रहरी निरीक्षक ढुंगानाले बताए।
‘मोबाइल बोक्ने भए प्राविधिक पाटो पनि विश्लेषण गरेर खोजी सहज हुन्थ्यो। मोबाइल पनि नबोक्ने हुनाले त्यसो गर्न सकिएन,’ उनले भने, ‘महाकाली किनार, नेपाल वारिपारी र आफन्त कहाँ खोजी गर्दा पनि अझै अवस्था अज्ञात छ।’
जब आफ्नो बाटो लाग्छु भनेर हिँडिन्…
गत असोज २५ गते बिहान पानी लिन भनी नजिकैको धारातर्फ गएकी उनी घर फर्किनन्। महाकाली प्रहरी चौकीनजिकै किशोरीले पानी ल्याउन लगेका ‘ग्यालेन’ र डोरी भेटिएका थिए।
किशोरीको परिवारले महाकाली प्रहरी चौकीका प्रहरी हवल्दार कृष्णराज जोशीले छोरीलाई बेपत्ता पारेको आरोप लगाएको छ। असोज २५ बिहानदेखि किशोरी बेपत्ता भएपछि त्यहीँ दिन महाकाली पारि सुगरखालबाट नियन्त्रणमा लिएर पीडित परिवार र स्थानीयले प्रहरी हवल्दार जोशीमाथि कुटपिट गरेका थिए।
त्यसपछि सोही राति घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले प्रहरी हवल्दार जोशीलाई सदरमुकाम ल्याएर उपचार गरेको थियो। पीडित किशोरीको परिवारले प्रहरी हवल्दार जोशीविरुद्ध व्यक्ति बेपत्ता पार्ने कसुरमा किटानी जाहेरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा रहेका उनीबारे प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ। ती किशोरी र प्रहरी हवल्दार सम्बन्धमा थिए। पानी पँधेरो एकै ठाउँमा भएकाले चिनजानपछि उनीहरुबीच हिमचिम बढेको थियो। प्रहरी हवल्दार जोशीको मोबाइलमा सम्बन्ध झल्किने ती किशोरी र उनका संयुक्त तस्बिर भेटिएका थिए।
पानीपँधेरो एउटै ठाउँमा गर्ने र चौकी नजिकै घर हुँदा चिनजान भएको हवल्दार जोशीले पनि प्रहरी समक्ष खुलाएका छन्। तर किशोरी बेपत्ताबारे आफूलाई केही थाहा नभएको उनले जिकिर गरिरहेका छन।
‘२५ गते बिहान साढे ५ बजेतिर भेट भएको थियो। सम्बन्धको बारेमा परिवारलाई थाहा भइसक्यो। दबाब दिँदैछन्। मलाई गाह्रो हुन्छ भन्दै थिइन्। मेरो पनि परिवार भएकाले तत्काल केही गर्न सकिँदैन। २र३ दिन रोक, म मिलाउँछु भने,’ हवल्दार जोशीले प्रहरी समक्ष भनेका छन्, ‘त्यसपछि म आफ्नो बाटो लाग्छु भनेर उनी धारातिर निस्किइन्।’
त्यसअघि २३ असोज बेलुका ती किशोरी र प्रहरी हवल्दार करिब ४ घण्टा हराएका थिए।
सम्बन्धित समाचार
- बैतडीमा प्रहरी हवल्दारले भगाएकी भनिएकी किशोरी कहाँ छिन् ?
- किशोरीसँग ‘प्रेम सम्बन्ध’मा थिए हाकिम, बेपत्ता भएपछि चौकीका प्रहरी तानिए
- बेपत्ता किशोरी अझै फेला परिनन्, आरोपी प्रहरी हवल्दारविरुद्ध मुद्दा हाल्दै परिवार
- बैतडीमा किशोरी बेपत्ता आरोपमा समातिए प्रहरी हवल्दार
प्रहरीमाथि सोधपुछ, किन सारियो चौकी ?
प्रहरी हवल्दारलाई किशोरी बेपत्ताको आरोप लागेपछि महाकाली प्रहरी चौकीका प्रहरी जिल्ला मात्रै तानिएनन्, उनीहरुमाथि पनि किशोरीका बारेमा सोधपुछ भएको छ।
वि।सं। २०५८ सालमा स्थापना भएको महाकाली प्रहरी चौकमा सईको नेतृत्वमा ४ जना प्रहरी बस्थे। त्यहाँका प्रहरी सईको फागुनतिर सरुवा भएपछि प्रहरी हवल्दार जोशीले इन्चार्जको जिम्मेवारी सम्हालिरहेका थिए।
प्रहरी इन्चार्ज जोशी किशोरी बेपत्तामा मुछिएपछि महाकाली चौकीका प्रहरी कर्मचारी जिल्ला तानिए। जोशीको नेतृत्वमा महाकाली प्रहरी चौकीमा काम गरेका ३ प्रहरी कर्मचारी र किशोरीका आफन्तलाई घटनाका बारेमा सोधपुछ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक ढुंगानाले बताए।
किशोरी बेपत्ता घटनामा प्रहरी हवल्दार मुछिएपछि महाकाली प्रहरी चौकीका एक जना सहायक हवल्दार र एक जना प्रहरी जवान जिल्ला तानिए। एक जना सहायक हवल्दार भने अहिले पनि त्यही छन्।
महाकाली प्रहरी चौकीमा सई सुरतबहादुर साउँदको नेतृत्वमा नयाँ टोली छ। त्यति मात्रै होइन्, डिम्मरबाट महाकाली प्रहरी चौकी तत्कालका लागि सारिएको छ।
भौगोलिक विकटता हुनाले घटनाअघि नै प्रहरी चौकी सार्नका लागि स्थानीय जनप्रतिनिधिले कसरत गरेका थिए।
‘यातायात र सञ्चारको निकै समस्या थियो। स्थानीय घटना पनि पहिले जिल्लाले पाउने र त्यसपछि चौकीले पाउँथे। त्यसैले हामीले चौकी सुगम ठाउँमा सार्न माग अघि बढाइरहेका थियौँ,’ पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले भने, ‘यो घटनाले पनि चौकी छिटो सार्न मद्धत गर्यो।’
घटनापछि दोस्रो पटक पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दसहित स्थानीयले चौकी सार्न ज्ञापनपत्र नै बुझाएका थिए। त्यसअघि पनि एक पटक भौगोलिक विकटताले चौकी सार्न लेखापढी भएको पाइन्छ।
जिल्ला सुरक्षा समितिको बैठकले तत्कालका अर्कोे विकल्प नहुञ्जेलसम्म चौकी पञ्चेश्वरको कुलाउमा स्थान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक ढुंगानाले बताए।
महाकाली प्रहरी चौकी रहेको स्थानबाट कुलाउ झण्डै डेढ घण्टा पैदल दूरीमा पर्छन। अहिले महाकाली प्रहरी चौकका प्रहरीसहित जिल्लाबाट खटिएका प्रहरी निरीक्षक कुलाउमै बसेका छन्।
कुलाउबाटै सो क्षेत्रमा पनि नियमित गस्ती भइरहेको छ। ‘घटनाले गर्दा चौकी सारिएको होइन। यसअघि पनि चौकी सार्न लेखापढी भएको पाइन्छ,’ प्रहरी निरीक्षक ढुंगानाले भने, ‘पहिले ३र४ जना प्रहरी बस्थे। अहिले घटना विशेष १०र११ बस्नु परेकाले त्यहाँ ठाउँ भएन। नजिकै त्यस्तो संरचना पनि पाइएन्।’
त्यसैले तत्कालका महाकाली प्रहरी चौकीलाई स्थानान्तरण गरेर कुलाउमा राखिएको छ। निकट भविष्यमा उपयुक्त स्थानको खोजी गरेर प्रहरी चौकी राखिने प्रहरी निरीक्षक ढुंगानाले बताए।