किशोरीसँग ‘प्रेम सम्बन्ध’मा थिए हाकिम, बेपत्ता भएपछि चौकीका प्रहरी तानिए

प्रकाशित:

कञ्चनपुर। गत असोज २५ गते सबेरै बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्मरकी १७ वर्षीया किशोरी पानी लिन गइन्। उनको घर नजिकै पानीको धारा छ। ती किशोरी सधैँ पानी ल्याउन त्यहीँ धारामा जान्थिन्।

सबेरै पानी लिनका लागि गएकी किशोरी त्यो दिन अबेरसम्म पनि घर फर्किएनन्। छोरी घर फिर्ता नआएपछि परिवारले यताउता उनको सोधीखोजी गरे। तर केही अत्तोपत्तो नचलेपछि आमाबुवाको मनमा चिसो पस्यो।

पानीको धारा नजिकै महाकाली प्रहरी चौकी छ। त्यहीँ चौकी नजिकै किशोरीले पानी ल्याउन लगेको ‘ग्यालेन’ र डोरी भेटियो। एक हप्ता बितिसक्दा पनि ती किशोरी अझै घर फर्किएकी छैनन्।

छोरीको अवस्था अज्ञात हुँदा उनको परिवारलाई चिन्ताले पिरोलिरहेको छ। छोरी घर नफर्केको दिननै परिवारका सदस्यले महाकाली प्रहरी चौकीका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीलाई खोजीका लागि भनेका थिए। तर उनी भागेर भारततिर लागे।

त्यसअघि नै ती किशोरी र प्रहरी हवल्दार जोशीबीचको सम्बन्धको गाउँमा ‘गाईगुइँ’ चलेको थियो। २३ असोजको बेलुकी उनीहरु दुवै जना करिब चार घण्टा हराए। त्यसपछि अर्को दिन किशोरी आमाबुवासँग खेतीपातीमा देखिएकी थिइन्।

प्रहरी हवल्दार जोशी शिवनाथ गाउँपालिका–१ नागार्जुन घाटबाट महाकाली पारी भारततर्फ गएको र राति फेरि वारी फर्किएको गाउँलेहरुको दाबी छ।

प्रहरी हवल्दार जोशीले किशोरी बेपत्ता पारेको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन्। व्यक्ति बेपत्ता पार्ने कसुरमा जोशीविरुद्ध मुद्दा दर्ता भएर अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ।

२५ असोजमा भागेर महाकाली पारी भारतको सुगरखाल पुगेका जोशीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। उनी अहिले जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा छन्।

किशोरी र प्रहरी हवल्दारको ‘प्रेम सम्बन्ध’लाई बल पुर्‍याउने प्रमाण पनि भेटिएका छन्। प्रहरी हवल्दार जोशीको मोबाइलमा ती किशोरी र जोशीका संयुक्त तस्बिर भेटिएका छन्।

‘चौकी नजिकै घर भएकाले ५र६ महिनाअघि चिनजान भएको बताइरहेका छन्,’ प्रहरी स्रोत भन्छ, ‘उनको मोबाइलमा दुवैका फोटोहरू पनि पाइएका छन्। जसले सम्बन्धमा रहेको देखिन्छ।’

पानी पँधेरो एउटै ठाउँमा गर्ने र चौकी नजिकै घर हुँदा चिनजान भएको हवल्दार जोशीले प्रहरी समक्ष बताएका छन्।

तर किशोरी बेपत्ता बारेमा भने प्रहरी हवल्दारले अझै मुख खोलेका छैनन्। किशोरी बेपत्तामा आफ्नो संलग्नता नरहेको उनको जिकिर छ।

किशोरीको खोजीका लागि प्रहरी निरीक्षक बलराम पाण्डेयको नेतृत्वमा प्रहरी टोली पञ्चेश्वरमा खटिएको छ। तर बिहीबार बेलुकीसम्म उनको अवस्था अज्ञात छ।

घटनाको विस्तृत रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। महाकाली प्रहरी चौकीमा सईको नेतृत्वमा ४ जना प्रहरी बस्थे।

त्यहाँका प्रहरी सईको फागुनतिर सरुवा भएपछि प्रहरी हवल्दार जोशीले इन्चार्जको जिम्मेवारी सम्हालिरहेका थिए। प्रहरी इन्चार्ज जोशी किशोरी बेपत्तामा मुछिएपछि महाकाली प्रहरी चौकीका प्रहरी कर्मचारी जिल्ला तानिएका छन्।

एक जना सहायक हवल्दार र एक जना प्रहरी जवान जिल्ला तानिएका हुन्। हवल्दार जोशीको नेतृत्वमा काम गरेका एक जना सहायक प्रहरी हवल्दार बाहेक अन्य प्रहरी कर्मचारीलाई जिल्ला झिकाइएको हो।

महाकाली प्रहरी चौकीमा अहिले सई सुरत बहादुर साउँदको नेतृत्वमा नयाँ टोली पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए।

ताजा समाचार

सम्बन्धित समाचार