कालीकोट। असोज २३ राँचुलीबासीका लागि कालो दिन बनेको छ । मुटुरोगले थलिएर मृत्यु भएका तिलागुफा–४ राँचुलीका २६ वर्षीय युवा हेमराज शाहीको मलामी गएका गाउँका १३ जना अगुवालाई पहिरोले बेपत्ता बनाएकाले त्यो दिन राँचुलीबासीका लागि कहालीलाग्दो बनेको हो ।

तिलागुफा–४ का वडाध्यक्ष परबहादुर शाही, कालिका मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पूर्वराँचुली गाविस अध्यक्ष छत्रजंग शाही, प्रशान्त शाही, मोतीलाल शाही, अलिबहादुर, कालीबहादुर, भेषबहादुर, खगेन्द्र, नरेश, धनबहादुर, मानबहादुर, खेमराजलगायत मलामी गएका स्थानीय बेपत्ता छन् ।

०७९ असोज २३ को मुसलधारे पानीमा भिज्दै मलामी गएकाहरू अझै फर्किन्छन् भन्ने आशा बाँकी नै रहेको पीडित परिवारजनले बताए ।

गाउँमा अगुवा तथा पूर्ववडाध्यक्ष खड्कराज शाहीले भने, ‘असोज २३ को कालो दिन फेरि कहिल्यै नआओस् ।’ पहिरोमा उनका भाइ भेषराज पनि बेपत्ता छन् ।
गाउँबाट उप्किएर गएको पहिरोले मलामी गएका गाउँलेलाई बगाएर तिलानदीको उर्लिंदो भेलमा मिसाएर बेपत्ता बनाएको थियो । बेपत्ता कसैको पनि सास र लाश नभेटिएकाले आफन्तले कुशको लाश बनाएर एक महिनापछि परम्पराअनुसार काजकिरिया भने गरेका थिए ।
‘तर अझै पनि फर्किन्छन् कि भन्ने आश लाग्छ,’ २० वर्षको खाउँखाउँ लाउँलाउँ भन्ने उमेरमा पति गुमाएकी नरेशकी पत्नी संगम शाहीले दुखेसो पोखिन्, ‘मेरो जीवनमा दैव लाग्यो । उनी पहिरोमा बेपत्ता भएका बेला ६ महिनाकी गर्भवती थिएँ ।’
उनका पति नरेश घरको एक्लो छोरा थिए । ०७९ पुसमा संगमले छोरालाई जन्म दिएकी छन् । १२ कक्षा पढेकी संगम अचेल वृद्ध सासूससुरा र दुधे बालकको स्याहारसुसार गरेर गाउँमै खेती किसानी गरी बसेकी छन् ।
राँचुली पहिरोमा प्रशान्त, भेषराज र खेमराज गरी ३ युवा पनि बेपत्ता छन् भने सानैमा बुबा गुमाएका प्रशान्त शाहीकी आमा बिमा एक मात्र छोरा गुमाउनुको पीडाबीच छोरी किरनकलाको चिल्खायाको ढिम्नियास्थित घरमा बस्छिन् ।
‘कैखौ मुख हेरेर बइनु ?’ बलिन्द्रधारा आँशु बगाउँदै ६५ वर्षीया बिमा शाहीले स्थानीय लबजमा भनिन्, ‘दुःख गरेर हुर्कायाको छोरो पहिरोकन भयो ।’ उनी घरको सम्झनाले सताइ रहेकाले राँचुलीको जग्गा जमिन छोरीज्वाइँलाई दिएर ढिम्नियामा घर बनाएर बस्ने योजनामा छिन् ।
दुई वर्षअघि दसैंका बेला लगातार ७ दिनसम्म परेको अविरल वर्षाले जताततै पहिरो गइरहेको अवस्थामा हेमराज बितेपछि लाश धेरै दिन घरमा राख्नु हुँदैन भनेर गाउँका अगुवासहित मलामी गएका थिए । उनीहरूलाई त्यही पहिरोले बेपत्ता बनायो । सिंगो गाउँ नै अभिभावकविहीन जस्तै छ ।
स्थानीय युवा कमल शाहीका अनुसार बेपत्ताको सम्झनामा गत बुधबार गाउँमा सामूहिक रूपमा दीप प्रज्ज्वलन गरेर स्मृति सभा मनाइएको छ । वडाध्यक्ष बेपत्ता भएपछि वडाका काम प्रभावित छन् । पहिरोमा बेपत्ताको सम्झनामा आफन्तले ‘छुटाइ लैगइ काल, अन्तिम बास जंलमा भयो, कर्नालीका छाल बगाइर कै ठउर पुर्याइ’ भन्ने गीति संग्रहको छायांकन गरेर यस्तै दुःखलाई सम्झाउने गरेका छन् ।
त्यतिबेलाको पहिरोले भत्काएका गाउँलेका घर अझै पुनःनिर्माण हुन सकेका छैनन् । पहिरोले घरजग्गा बगाएको दुई वर्ष बितिसक्दा पनि तिलागुफा–४ राँचुलीकी अप्सरा शाहीको घर बन्न सकेको छैन । ०७९ को दसैंको दिनदेखि सुरु भएको बेमौसमी वर्षाले घर भत्किएपछि उनको ८ जनाको परिवार बिचल्लीमा छ । ‘सरकारले घर बनाइदिने भनेको दुई वर्ष बढी भइसक्यो,’ उनले गुनासो पोखिन्, ‘अझैसम्म अत्तोपत्तो छैन ।’ उनले पहिरोले घर बगाएपछि छिमेकी भन्दरी शाहीको घरमा ओत लाग्दै आएको सुनाइन् ।
‘परारको दसैंमा पहिरोले घर बगायो,’ शाहीले आफ्नो पीडा सुनाइन्, ‘दुई हिउँद जाडोमै कट्यो, यस वर्ष पनि चिसो सिजन सुरु भइसक्यो, घर बन्ने केही ठेगान छैन ।’ ७ दिनसम्म भएको लगातारको वर्षाले घर भत्किएपछि अन्नपात सबै पहिरोले बगायो । ‘जेनतेन आजसम्म त छाक टरेकै छ,’ उनले भनिन्, ‘मर्न नसकिने रैछ । यहाँभन्दा के दुःख पाउनू रु’
पहिरोले घर भत्किएपछि नयाँ बनाउन नसक्दा दुई परिवार ज्याला मजदुरीका लागि भारतको बैंग्लोर गएका छन् । स्थानीय टोपबहादुर शाही र नरदीप शाहीका ५र५ जनाको परिवार डेढ वर्षअघि चौकीदारीका लागि भारत गएर अझै फर्किएका छैनन् । बस्ने घर पहिरोले बगाएपछि राँचुलीका काली शाही दुई वर्षदेखि छिमेकी धनरूप थापाको घरमा बसिरहेकी छन् । ‘मेरो त सरकारले घर बनाइ दिन्या भनेर अहिलेसम्म अर्काकै गोठमा बास छ,’ उनले भनिन्, ‘सरकारले घर बनाइ दिन्या भनेर ढाँट्यो मात्र ।