कञ्चनपुर। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्रको विकास सरकारी, निजी र दातृ निकायसँग सहकार्य गर्दै अगाडि बढाइने बताएका छन्। महेन्द्रनगरमा आयोजित छलफलमा बोल्दै उनले औद्योगिक क्षेत्रका नीतिगत र प्रक्रियागत समस्याहरू समाधान गर्न वन मन्त्रालय र उद्योग मन्त्रालयबीच मन्त्रिस्तरीय छलफल हुने जानकारी दिए।
मन्त्री भण्डारीले औद्योगिक क्षेत्रको विकासका लागि स्थापना गरिने कार्यालयमा अधिकृतस्तरका कर्मचारी खटाउने तयारी भइरहेको पनि बताए। उनले औद्योगिक क्षेत्रका लागि आवश्यक रुख काट्ने प्रक्रिया पनि छिटो अगाडि बढाउने बताएका छन्।
राजस्व चुहावट रोक्न र दायरा विस्तार गर्नका लागि कर्मचारीहरूलाई निर्देशन दिएका मन्त्री भण्डारीले सीमापार लागुऔषधको ओसारपसारमा निगरानी बढाउनुपर्ने आवश्यकता व्यक्त गरे। कार्यक्रममा सहभागी पूर्वसंविधानसभा सदस्य कृपाराम रानाले दैजी–छेला औद्योगिक क्षेत्रको काम तत्काल सुरु गर्न माग गर्दै कुनै पनि बहानामा विलम्ब नगर्न आग्रह गरेका छन्।
“काम सुरु गर्नुपर्छ र उद्योग स्थापनाको वातावरण सिर्जना गर्न आवश्यक छ,” उनले भने।