चाडबाडमा भारतबाट घर फर्कने नेपालीः स्वदेशमै रोजगारी पाए फेरि जाँदैनौँ

प्रकाशित:

कञ्चनपुर। पश्चिमी सीमा नाका गड्डाचौकीमा भारतबाट स्वदेश फर्किने नेपाली बढ्न थालेका छन्। भारतका विभिन्न ठाउँमा काम गर्ने नेपाली दसैँ मनाउन स्वदेश फर्किने थालेका हुन।

घरपरिवारसँग चाडबाड मनाउन दसैँको खर्च जोहो गरेर स्वदेश फर्किन पाउँदा नेपाली खुसी व्यक्त गर्ने गरेका छन्। दुई वर्षपछि दसैँ मनाउन घर फर्किन लागेको गड्डाचौकी नाकामा भेटिएका बाजुराका हिरण्य गिरीले बताए।

“दुई वर्ष परिवारसँग दसैँ तिहार मनाउन पाइन। यसपटक थोरै पैसा बचाएर चाडबाड मनाउन घर जाँदैछुँ,” उनले भने, “स्वदेशमै काम पाइँदैन। दसैँ तिहार मनाएर फेरि भारततिर जान्छुँ।”

स्वदेशमै गतिलोे आम्दानीको रोजगारी पाए भारत नजाने उनको भनाइ छ। उनले पाँच वर्षदेखि भारतको दिल्लीमा गाडी चलाउने काम गर्छन्।

स्वदेशमा गतिलो कमाइ नभएपछि घरखर्च चलाउन भारतमा रोजगारी गर्ने गरेको गिरीले बताए। सुर्खेतका हर्कबहादुर थापालाई भारतको सिम्लामा काम गर्न थालेको दश वर्ष भन्दा बढी भइसक्यो। भारतमा स्याउँ टिप्ने काम गरेर उनले गुजारा चलाउँदै आएका छन्।

हर्कबहादुरसँगै गाउँका अन्य पनि सिम्लामा स्याउँ टिप्ने काम गर्छन्। चाडबाड र खेतीपातीका लागि घर फर्किएको हर्कबहादुरको भनाइ छ।“अरुबेला बाहिर गएर जति दुःख गरेपनि चाडबाडमा सधै घर पुग्छुँ,” उहाँले भन्नुभयो, “घरपरिपारसँग चाडबाड मनाउन पाउँदा निकै खुसी लाग्छ।”

चाडबाड सुरु भएसँगै गड्डाचौकी नाकाबाट स्वदेश फर्किनेको चाप बढ्न थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए।

गड्डाचौकी नाका भएर दैनिक हजारको सयको हाराहारीमा नेपाली नागरिक भित्रिरहेका छन् । कामको खोजीमा सुदूरपश्चिम, कर्णाली लगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन् ।

भारतबाट आउने नेपाली नागरिकको लागि नाकामा सहायता कक्ष समेत सञ्चालन गरिएको छ। सहायता कक्षमा भारतबाट आउनेलाई शुद्ध पिउने पानी र प्राथमिक स्वास्थ्य उपचार गर्ने गरिएको छ।

यो पनिः दसैँ मनाउन भारतबाट घर फिर्ती, गड्डाचौकी नाकामा चहलपहल [तस्बिरहरु]

ताजा समाचार

सम्बन्धित समाचार