काठमाडौँ। धुलिखेल अस्पताल। हाडजोर्नी विभागको बेड नम्बर ‘५ एफ’ मा ढलिरहेका छन् काभ्रेको तेमाल गाउँपालिका २ ढडेनपाखाका माइला तामाङ। घरको जेठो सन्तान भए पनि उनको नाम माइला हो।

टाउकोमा टाँका मारेर पट्टी बाँधिएको छ। देब्रे खुट्टा सिसाले काटेर घुँडाभन्दा तलको भागमा चोटैचोट छ। अप्रेसन गरेर पट्टी बेरिएको छ। खुस्किएको दाहिने हातलाई अडिन सहारा बनाइएको छ गर्धन।

सात दिनअघि (असोज ११) परिवारै सखाप बनाएको पहिरोले माइलालाई यो हालतमा पुर्याएको हो। पहिरोमा पुरिएको ३० घण्टापछि नेपाली सेनाले हेलिकप्टरमा उनलाई धुलिखेल अस्पताल पुर्याएको थियो।

माइलालाई आफ्नो उपचारको चिन्ता छैन। छिट्टै डिस्चार्ज भएर घर जाने हतारो पनि छैन। उनले डाक्टरलाई सोधेका पनि छैनन्– कहिले सन्चो हुन्छ र डिस्चार्ज हुन्छु भनेर।
बरु माइलालाई चिन्ता त यो छ –अस्पतालले डिस्चार्ज गरेपछि जाने कहाँ ?
‘अब घर कसको मायाले जानु र सररु’ माइलाले भने, ‘घर जाऊँ भने घर छैन। घरमा कोही पनि बाँकी छैनन्। बाबुआमा छैनन्, श्रीमती पनि छैन, कसको मायाले जाने र घररु जग्गा जमिनको मायाले जाऊँ भने पहिरोले लग्यो, मान्छेको मायाले जाऊँ भने एउटै छैनन् घरमा। अब त्यहाँ फर्किने कुरै नगरौँ।’
अब माइलाको न घर छ, न त परिवार नै सबै छन्। ११ गतेको पहिरोले बुबा–आमा र श्रीमतीसहित ८ जनालाई लग्यो।
माइलाका बुबा सानुमान, आमा जिरामाया तामाङ, श्रीमती कान्छीमाया, भाइ मनजित र बुहारी कान्छी, मनजितका छोरीहरू अप्रिया, सुप्रिया र छोरा सरोज पहिरोमा परे।
अप्रिया र सुप्रिया पहिरोमै बेपत्ता छन्। दुई दिनअघि ५ जनालाई जलाएर घेवा गर्न साइँलो र कान्छो छोराबुहारीहरू स्वयम्भूको गुम्बामा आएका छन्।
जेठो छोरा माइलाले भने बाबुआमाको अन्त्येष्टि गर्न पनि पाएनन्।
‘पहिरो जाने बेलामा घरमा ९ जना थियौँ। ८ जना सबैलाई लग्यो, मलाई छाड्यो,’ माइला आफ्नै नियतिसँग गुनासो गर्छन्, ‘म पनि त्यतिखेरै जानु पर्ने, जान दिएन। मेरो भाग्यमा यस्तै भोग्नु रहेछ। मैले दुःखै भोग्नु पर्ने रहेछ। अझै धेरै दुःख भोग्न लेखेको रहेछ।’
- बाढीमा फसेका छिमेकी बचाउन गए डुकुमान, उनकै सिंगो परिवार पहिरोले पुर्यो
- तामाकोसीमा बिलायो परिवारसँगै दसैँ मनाउने बैतडीका शंकरको सपना
- झ्याप्ले खोलामा अस्तायो सुदूरका नवीनको कृषि विज्ञ बन्ने सपना
- पहिरोमा पुरियो यी होरहार बालकको फुटबल सपना
- झ्याप्ले खोलामा बिलायो दसैँ सपना, बुहारी र नातिसँगै अस्ताए जुद्धबहादुर
- झ्याप्ले खोलामा आमासँगै अस्ताए ‘टपर’ जुम्ल्याहा दाजुबहिनी