पहिरोमा पुरियो यी होरहार बालकको फुटबल सपना

प्रकाशित:

काठमाडौं। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा शनिबार आएको पहिरोमा भाइ पुरिएको खबर सुन्दा दीपेश बानियाँ घरमै थिए ।

खबर सुन्नेबित्तिकै तुरुन्तै पहिरो गएतिर दौडिए । उनी पुग्दा पहिरोको थुप्रोबाहेक थिएन । तर पनि झिनो आसले पहिरो पन्छाउँदै जाँदा सुरुमै भाइको टाउको भेट्टाए । उनको सास नै अड्किए जस्तो भयो ।

‘स्कुलका पियनले पहिरोमा भाइ पनि पुरियो भनेर मलाई खबरे गरे । हामी घटनास्थल पुग्दा सबै पुरिसकेको थियो,’ उनी भन्छन्, ‘भाइलाई निकाल्न खोज्दा अरू चार वटा शव भेटियो ।’

सिस्नेरी टेकरस्थित वत्सलादेवी मावि सिभिल इन्जिनियरिङ शिक्षालयका पियन प्रकाश क्षेत्रीले ६ खेलाडी पहिरोमा पुरिएको खबर दीपेशलाई दिएका थिए । पुरिएको लासलाई निकाल्दै गर्दा फेरि पहिरो खस्दा मुस्किलले बचेको दीपेश सुनाउँछन् । अन्य शव पछि उद्धारकर्मीले निकालेका थिए ।

पहिरोमा परी दीपेशका भाइ सिस्नेरी टेकरका दिवस बानियाँ, हेटौंडा–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन, सर्लाहीका आदित्य बलम्पाकी, काठमाडौंका प्रियान्स आचार्य र निजगढका विकल रेग्मीको मृत्यु भएको छ ।

मृत्यु भएका ६ जना अखिल नेपाल फुटबल संघ ९एन्फा० एकेडेमी यू–१४ क्याम्पका खेलाडी हुन् । एन्फाले यू–१४ क्याम्पमा ४० जना खेलाडीलाई गत वैशाखबाट सिस्नेरीको टेकरमा होस्टल र आवासीय सुविधासहित एकेडेमी सञ्चालन गर्दै आएको थियो । शनिबारको घटनाले राष्ट्रिय खेलाडी बन्ने उनीहरूको सपना अधुरै बनेको छ ।

बिदा हुन लागेकाले असोज १४ मा नै प्रियान्सले लिन आउन बुवा टीकाराम आचार्यसँग कुरा गरेका थिए । त्यो नै बुवाछोराबीच अन्तिम कुराकानी बन्यो ।

‘१६ गतेदेखि बिदा हुन्छ बाबा । घरमा श्राद्ध छ भनेर ढाँटेर १४ गते नै लिन आइस्योस् भनेर फोनमा कुरा भएको थियो । त्यही झल्को आइरहेको छ । दुई दिनअघि नै त्यस्तो भइदियो,’ टीकाराम भन्छन्, ‘फुटबलमा फरवार्ड पोजिसन थियो । एकदम राम्रो खेल्थ्यो । ११ वर्षको मेरो छोरा ६ कक्षामा पढ्थ्यो ।’

१३ वर्षीय छोरा अनुपमको मृत्यु भएपछि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान दम्पती शोकमा छन् । एन्फाले आइतबार दिउँसो २ बजे शव हेटौंडा ल्याउने भने पनि प्राविधिक कारणले सम्भव नभएको जानकारी पाएपछि उनीहरू निराश बनेका छन् । ‘पुलिसले सुरक्षित ठाउँमा गएर बस्नु भनेर माइकिङ गर्दा वातावरण आतंकित भएर यस्तो घटना भएको हो ।

एन्फाको वार्डेनसहित व्यवस्थापन टिमले समयमै निर्णय गर्न नसक्दा दुःखद् अवस्था सिर्जना भयो,’ ललितबहादुरले भने, ‘आवश्यक पूर्वाधार एवम् तयारीबिना नै एकेडेमी सञ्चालन हुँदा यस्तो भएको हो ।’

तर गत बिहीबार रातिदेखि परेको वर्षाका कारण कुलेखानी ड्याम भरिन लागेको भन्दै शुक्रबार इन्द्रसरोवर क्षेत्र आसपास सतर्कता अपनाउन आग्रह गरिएको थियो । उक्त एकेडेमीका वार्डेन र प्रशिक्षकले कुनै तयारीबिना क्याम्पमा रहेका खेलाडीलाई छोटो बाटोबाट भगाउन खोज्दा घटना भएको मृतकका आफन्तको आरोप छ ।

मृतकका परिवारले बच्चाहरू पहिरोमा परी मृत्यु हुँदा पनि अहिलेसम्म एन्फाले कुनै प्रतिक्रिया नदिएको, एकेडेमीले लापरबाही गरेको आरोप लगाएका छन् । घटनाको अनुसन्धान नभई मृतकको लास नबुझ्ने र क्षतिपूर्ति पनि पाउनुपर्ने उनीहरूको माग छ ।

‘एन्फाको लापरबाहीले गर्दा यस्तो भएको हो । पहिरोमा एक्लै बच्चाहरू छोडिदिएर भाग भनेर निकालिदियो । अरू केही होइन राम्रोसँग छानबिन भएर दोषीलाई कारबाही हुनुपर्‍यो र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्‍यो,’ मृतक प्रियान्सका बुवा टीकारामले भने ।

मृतकका परिवारले एन्फाविरुद्ध महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दर्ता गर्न खोजेका थिए । प्रहरी वृत्तले मकवानपुरको घटना भएकाले जाहेरी दर्ता लिन इन्कार गरेको मृतक प्रियान्सका आफन्त विष्णु आचार्यले जानकारी दिए ।

झ्याप्ले खोलामा बिलायो दसैँ सपना, बुहारी र नातिसँगै अस्ताए जुद्धबहादुर
झ्याप्ले खोलामा आमासँगै अस्ताए ‘टपर’ जुम्ल्याहा दाजुबहिनी

ताजा समाचार

सम्बन्धित समाचार