बुटवल। देशकै धेरै विद्यार्थी अध्ययनरत बुटवलस्थित कालिका मानवज्ञान माविका ‘टपर’मध्ये थिए, दीपेश र दीपिका भट्टराई । नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार– २०२४ मा भाग लिन आमा सीतासँगै उनीहरू शुक्रबार बुटवलको राजमार्ग चौराहाबाट काठमाडौंका लागि माइक्रो बस (विंगर) चढे ।
चौराहा काउन्टरका लक्ष्मण कार्कीले टिकट काटिदिएपछि लु १ ज ४५७८ नम्बरको माइक्रो बसमा काठमाडौंको यात्रा तय भयो । हरेक गतिविधिमा ‘एक्टिभ’ दीपेश र दीपिका जुम्ल्याहा दाजुबहिनी हुन् ।
आफैंले अनलाइन फारम भरेर दाजुबहिनी नै अन्तर्राष्ट्रिय स्तरको ‘कन्फ्रेन्स’ मा छनोट भएका थिए । कक्षा १० मा अध्ययनरत उनीहरू आउँदो एसईई परीक्षाको तयारीसँगै एस्ट्रोनोमिकल सोसाइटीको पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बंगलादेश जाने सपना बोकेर काठमाडौं जाँदै थिए ।
बंगलादेशमा आयोजना हुने उक्त ‘कन्फ्रेन्स’मा ३२ देशका विद्यार्थी सहभागी हुने बताइएको छ । ओलम्पियारमा सहभागी हुने उनीहरूको सोचलाई विद्यालयले पनि साथ र समर्थन दियो ।
वर्षाका कारण देशभर क्षति पुग्ने खतराबारे समाचार सुन्दै काठमाडौंको यात्रा तय गरेका उनीहरू चढेको गाडी शनिबार धादिङको झ्याप्ले खोलामा लेदोसहित आएको पहिरोमा पुरियो । १५ वर्षका दीपेश र दीपिका तथा ४० वर्षकी आमा सीतासहित बुटवलबाट गएका १४ जना त्यहीँ अस्ताए, जसमा चालक समेत समावेश छन् ।
पहिरोमा पुरिएकामध्ये दीपेश र सीताको सनाखत भइसकेको छ । दीपिकाको शव पहिचान हुन बाँकी छ । स्याङ्जाको गल्याङ नगरपालिका– ३ स्थायी घर भएको भट्टराई परिवार बुटवल उपमहानगरपालिकास्थित योगीकुटीमा बस्दै आएको थियो ।
कालिका मानवज्ञान माविका प्राचार्य दिनेश थापाका अनुसार दीपेश र दीपिका आफैं ‘कन्फ्रेन्सको फारम’ भएर छनोट भएका थिए । ‘कार्यक्रम यही असोज १७ गते हो,’ थापाले भने, ‘शायद काठमाडौंमा पढ्ने दाइदिदीसँग पनि भेटघाट गर्ने मनसायले दुईरचार दिनअघि नै गएको हुनुपर्छ ।’
उनीहरूले यही वर्ष हुने एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यालयको अपेक्षा थियो । ‘कक्षा ४ बाट यही स्कूलमा पढेका दीपेश–दीपिका दुवैले आउँदो एसईई परीक्षामा ४ जीपीए अंक ल्याउने अपेक्षा विद्यालयको थियो । उनीहरूका दाइदिदी पनि यहीँबाट ‘पास आउट’ भएका हुन्,’ थापाले भने, ‘कक्षा शिक्षकसँग बिदा मागेर गएका हुन् । आमा सीता पनि स्कूलमा आएपछि विद्यालयले केही आर्थिक सहयोग गरेर पठाएको थियो । कर्णधार भाइबहिनी अस्ताए । हामी ठूलो पीडामा छौं ।’
दीपेश–दीपिकाका बुवा होमनाथ भट्टराई विगत ५ वर्षदेखि दक्षिण कोरियामा मजदुरी गर्दै आएका छन् । श्रीमती र छोराछोरी बुटवलबाट यात्रा तय गर्ने क्रममा उनीसँग कुराकानी भएको थियो । तर, होमनाथ कामबाट फर्किंदा गाडी पुरिएको खबर पुग्यो ।
स्कूलका शैक्षिक संयोजक दीपक बञ्जाडेले नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा काठमाडौंमा नेसनल एस्ट्रोनोमी ओलम्पियार– २०२४ को पहिलो सेसन सकाएर दोस्रो चरणमा बंगलादेश जाने तयारीका लागि उनीहरू काठमाडौं गएको बताए । सीताका मामा नगेन्द्रराज पाण्डेले भाञ्जा ९होमनाथ०को परिवार पहिरोको विपत्तिमा परेको भन्दै दुःख व्यक्त गरे ।
‘विशाल सपना बोकेर हिँडेका बाबुनानीलाई पहिरोले खोस्यो,’ पाण्डेले भने, ‘भाञ्जालाई आइतबारसम्म नेपाल बोलाएका छौं । दीपेश–दीपिकाका दाजुदिदी काठमाडौं बसेर पढ्छन् । तीक्ष्ण क्षमताका बाबुनानी कलिलै उमेरमा अस्ताए । हामी शव कसरी ल्याउने भन्ने छलफलमा छौं ।’
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले पनि बुटवलले ठूलो मानवीय क्षति व्यहोर्नुपरेको बताए ।