सुर्खेत । रोल्पाका एक व्यक्तिको गाडीको सिटमा बसिरहेकै अवस्थामा मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको रुन्डीगढी गाउँपालिका-५, का पूर्णबहादुर घर्ती रहेको बताइएको छ ।
जाजरकोटको छेडागाड नगरपालिकाको थलह भन्ने ठाउँबाट घरतर्फ जाँदै गरेका उनको जाजरकोट–छिन्छु सडक खण्ड अन्तर्गत सल्यानको धारापानीमा मृत्यु भएको हो ।
गाडीमा सवार अन्य यात्रुका अनुसार उनी जाजरकोटमा खोटो कम्पनीमा काम गर्थे । थलहबाट गाडी चढ्ने बेलामा उनले पेट दुखिरहेको बताइरहेका थिए ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार उनीसँग एक अर्को साथी पनि थिए । प्रहरीले विवरण राख्नु अगावै उनले निजी गाडीमा राखेर लगेको उनले बताए । प्रहरी पुग्नु अगावै साथीले लगेका कारण गाडी नम्बर, व्यक्तिगत विवरण राख्न नपाएको खत्रीले बताए ।
पूर्णबहादुर रुकुम पश्चिमबाट जाने सडक ठिक नभएपछि जाजरकोट–छिन्चु–कोहलपुर र त्यहाँबाट भालुवाङ हुँदै रोल्पाका घर जान लागेका थिए ।