शाहीलेकमा अध्ययन गरेका यी पूर्व मुख्यमन्त्री र मन्त्रीहरुलाई किन गुहार्‍ययो विद्यालयले ?

प्रकाशित:

महेन्द्रनगर । २०११ सालमा स्थापना भएको बैतडी सदरमुकामस्थित वीरेन्द्र माध्यमिक विद्यालयले त्यहीँ वर्ष निर्माण गरिएको पुरानो भवन जीर्ण भएपछि सहयोगका लागि आफ्ना पूर्व विद्यार्थी समेत रहेका र मन्त्रीहरुलाई गुहारेको छ ।

कुनै बेला सोहीँ विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु अहिले प्रदेश सरकारको महत्वपूर्ण पदमा आसिन छन् । उनीहरुले एकताका अध्ययन गरेको विद्यालयको ऐतिहासिक भवन जीर्ण भएर भत्किने अवस्थामा पुगेको छ । त्यसको ‘रेनोभेसन’ गर्नका लागि विद्यालयले सहयोगको आग्रह गरेको हो ।

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले उक्त विद्यालयमा अध्ययन मात्र होइन्, केही वर्ष शिक्षण समेत गरेका थिए ।

नेपाली कांग्रेसका तर्फबाट हालै आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाएका बहादुर सिंह थापाले पनि सोही विद्यालयमा अध्ययन गरेका थिए ।यस्तै पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका कांग्रेस सांसद शिवराज भट्ट पनि सोहीँ विद्यालयका पूर्व विद्यार्थी हुन । एमाले सांसद जानकी ऐर बमले पनि शाहीलेकमा अवस्थित जिल्लाकै ऐतिहासिक वीरेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गरेकी थिइन ।

विद्यालयका प्रधानाध्यापक हर्क बहादुर चन्दले सी आकारको ऐतिहासिक भवन जीर्ण हुदै गएकाले रिनोभेसन आवश्यक रहेको बताए । उनले आर्थिक वर्ष ०८१/०८२ को बजेटमा उक्त योजना समावेश गर्नका लागि पूर्व विद्यार्थी समेत रहेका मन्त्रीहरुलाई लिखित रुपमै आग्रह गरेका छन् ।

‘मुल स्केलेटनलाई फरक नपारी पुरानो इतिहास एवम् पुरातात्विक महत्वलाई समेत मध्यनजर गरी भवन पुर्ननिर्माण नभई रिनोभेसन मात्र गर्नुपर्ने सरोकारवालाको माग छ ।’ उनले भने, ‘सोही बमोजिम डिजाइन–ड्रइङ गराई रेट्रोफिटिङ गर्ने गरी योजनामा समावेश गर्न अनुरोध छ ।’ सुदूरपश्चिम प्रदेशमा पूर्ववर्ती सरकारले बजेट ल्याउन नसकेपछि अहिले कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टी सम्मिलित सरकार त्यसको तयारीमा छ ।

ताजा समाचार

सम्बन्धित समाचार