काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा प्रबन्ध निर्देशक नियुक्तिमा भइरहेको ढिलाइका विषयमा कर्मचारीहरूले आवाज उठाएका छन् ।
तीव्र प्रतिस्पर्धात्मक अवस्थामा कम्पनीको सेवा विस्तार, गुणस्तर सुधार, ग्राहक सन्तुष्टिका साथै दूरसञ्चारसम्बन्धी नीति कार्यान्वयन गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेको अग्रणी दूरसञ्चार सेवा प्रदायक लामो समयदेखि निमित्तको भरमा चल्नु उचित नभएको नेपाल टेलिकम वर्कर्स युनियनले जनाएको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै युनियनले प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया तीन महिनादेखि थाँती रहँदा यसले अन्योल सिर्जना गरेको उल्लेख गरेको छ ।
’उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्तासमेत भइसकेको सन्दर्भमा हालसम्म प्रबन्ध निर्देशकको नियुक्ति नहुनुले संस्थामा अन्योल सिर्जना भएको छ,’ युनियन महासचिव लोकेन्द्र पनेरूले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ’संस्था बुझेको र संस्थालाई दीर्घकालीन उचाइमा लैजान सक्ने सक्षम व्यक्तिलाई संस्थाको नेतृत्व प्रदान गर्ने गरी यथाशिघ्र प्रबन्ध निर्देशकको नियुक्तिका लागि जोडदार माग गर्छौं ।’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेठ २२ मा प्रबन्ध निर्देशक नियुक्तिका लागि दरखास्त आहवान गरेको थियो । मन्त्रालयले आवेदन स्वीकृत भएका १६ जना उम्मेदवारलाई असार २०, २१ र २२ मा कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा बोलाएको थियो । अघिल्लो सरकारकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको अगुवाइमा टेलिकमको प्रबन्ध निर्देशक नियुक्तीको प्रक्रिया अघि बढाइए पनि सरकार परिवर्तनसँगै अन्तिम निर्णय हुन सकेको छैन । वर्तमान सरकारले यसअघि रोकिएको प्रक्रियालाई नै सदर गर्छ वा त्यसलाई खारेज गरेर नयाँ प्रक्रिया अघि बढाउँछ भन्नेमा अन्योल छ ।
’वर्षौं पुरानो दुरसञ्चार ऐन २०५३ ले वर्तमान समयमा दुरसञ्चार सेवाको सञ्चालन, अनुगमन, नियन्त्रण लगायत यस क्षेत्रका सबै विषय यथोचित रूपमा सम्बोधन गर्न नसकिरहेकाले सरोकारवाला सबै पक्षहरूको रायसमेत समेटी नयाँ ऐन जारी गराउनका लागि समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछौं,’ युनियनको विज्ञप्तिमा भनिएको छ ।
टेलिकमको कर्मचारी युनियन प्रतिनिधिहरूले संस्थाबाहिरका व्यक्तीलाई प्रबन्ध निर्देशक नियुक्त गरेमा टेलिकमको ढोका बन्द गर्ने चेतावनी दिँदै आएका छन् । सो पदका लागि आवेदन दिने १६ मध्ये १२ जना टेलिकमभित्रकै प्रतिस्पर्धी छन् ।
साभार: कान्तिपुर