बैतडी। कमाउने अभिभावक नै क्यान्सर रोग लागेर थला परेपछि बालबच्चासहित परिवार भोकै बस्न बाध्य भएका छन् ।
त्यसमाथि गत वर्ष असोजमा गएको भूकम्पले ओत लाग्ने घर भत्काइदिएको छ ।सिगास गाउँपालिका –३, घकुराडी बस्ने रघुवीर साउँदको जीवनमा यति ठूलो वज्रपात परेको छ कि चुलो बाल्न वृद्ध आमाको सामाजिक सुरक्षा भत्ता कुर्नुपरेको छ ।
परिवारका सदस्य वृद्ध आमाले पाउने भत्ता कुरेर बसेका छन् । हजुरआमाको भत्ता आएपछि मात्र खाना पाइने गरेको १२ वर्षीय नाति दीपक साउदले बताउनुभयो ।
क्यान्सर पीडित रघुवीर साउदको घरमा ६० वर्षीय एकल वृद्धआमा भागा साउद, श्रीमती बेलमती साउद, १५ वर्षीय छोरी भावना, १२ वर्षीय दीपक, ८ वर्षीय आयुष र ४ वर्षका भुवन साउद गरी सात जनाको परिवार छ ।क्यान्सर पीडित रघुवीरलाई डाक्टरले दुबै खुट्टाका औंलामा क्यान्सर लागेकाले चाँडै काट्नुपर्ने सल्लाह दिएका छन् । अस्पताल जाने खर्च नभएको रघुवीरले पीडा सुनाउँदै भन्नुभयो, “कमाउने हातमा क्यान्सर भएपछि परिवारका सदस्यको बिचल्ली भयो ।”
बालबच्चाले भोक लाग्यो भन्दा पकाएर खुवाउन चामल नभएको श्रीमती बेलमतीले पीडा सुनाउनुभयो । छिमेकीले खाना दिएको दिन मात्र बालबालिका विद्यालय जाने गरेको उहाँले बताउनुभयो ।
“गरिबको आफ्नो भन्ने कोही छैन,” आँसु खसाल्दै बेलमतीले भन्नुभयो, “गएको असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले घर चर्किएको छ । कमाउने श्रीमानको खुट्टामा क्यान्सर लागेपछि थला पर्नुभएको छ । घरमा खाने अन्न छैन । दुर्गम गाउँमा भारी बोक्ने काम पनि पाइँदैन । भोक लाग्यो भन्दै बालबच्चा रुन्छन् । कोसँग पीडा पोख्ने ?”
भूकम्पले घर चर्किपछि गाउँपालिकाले राहतस्वरुप दिएको ४० हजार रुपियाँले कर्कटपाता किनेर ल्याए पनि चर्किएको घर पुनःनिर्माण गर्ने परिवारको आर्थिक हैसियत छैन । राहत रकमबाट किनेको टिन काठको खामोमा मिलाएर परिवारका सदस्य चिसो भुइँमा सुत्ने गरेको ६० वर्षीय वृद्ध आमा भागा साउदले बताउनुभयो ।
भूकम्प र क्यान्सर पीडित परिवारको दयनीय अवस्था देखेर छिमेकीले बालबच्चालाई खाना दिने गरेको स्थानीय प्रकाश साउदले बताउनुभयो । गाउँका हुनेखाने परिवार सबै तराई झरेपछि गाउँका कोही अब आर्थिक हैसियत राम्रो नभएको उहाँले बताउनुभयो । गाउँमा कुनै रोजगारी नहुँदा सिगासका अधिकांश घरपरिवार भारतमा ज्याला मजदुरी गरेर जिवीका चलाउँदै आएका छन् । रघुवीर साउद पनि यसअघि भारतमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आउनुभएको थियो ।
भूकम्पले घर भत्काएका बेला रघुवीर भारतमा ज्याला मजदुरी गरेर खुट्टाको उपचार गर्दै हुनुहुन्थ्यो । सुरुमा बायाँ खुट्टाको बुढी औंलामा क्यान्सर देखापरेपछि औंला काटेर घर फर्किदा अहिले दायाँ खुट्टामा पनि क्यान्सर रोग देखापरेको रघुवीरले बताउनुभयो । उपचार गर्न सहयोग गर्ने मनकारी भेटिए खुट्टा काटेर भए पनि बाँच्ने रहर भएको रघुवीरले दुःखेसो पोख्नुभयो । साभार:गोरखापत्र