सुदूरपश्चिममा दिउँसै टर्च बालेर सांसदले खोजे सरकार

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनमा सरकारको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले सोमबार दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् ।

सोमबार २ बजे बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरूको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले टर्च बालेर सरकारको खोजी गरेका हुन् ।टर्च बालेर सरकार खोजिरहेको बताउँदै एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले भने, ‘अहिले वर्षातका कारण बाढी तथा पहिरोबाट आम जनताहरू समस्यामा परिरहेका छन् । सदनलाई ‘फेस’ गर्न नसक्ने, सदनमा उपस्थित हुन नसक्ने यो सरकार गैरजिम्मेवार बनेकोले दिउँसै टर्च बालेर खोजी गर्नुपर्ने अवस्था आएको छ ।

नेपाली कांग्रेसका सचेतक विक्रमसिंह धामीले सरकार अल्पमतमा रहेको अवस्थामा राजीनामा दिनुपर्ने बताए ।
प्रदेश सभाको बैठकमा कम्तीमा पनि एक जना सरकारको मन्त्रीको सहभागिता हुनुपर्छ । तर मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विशेष अधिवेशनमा सहभागी नहुने रणनीति तय गरेका छन् ।

प्रदेश सभाको विशेष अधिवेशनको सोमबार तेस्रो बैठक स्थगित भएको छ । सरकारका तर्फबाट कोही नआएपछि बैठक स्थगित भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार