पुनर्वास — कञ्चनपुरको पुनर्वास नगरपालिका–५, भानुबस्तीस्थित ठकुरी नास्ता पसलमा प्रहरीले छापा मारेर जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास–५ स्थित रमेशबहादुर ठकुरीले सञ्चालन गर्दै आएको नास्ता पसलमा छापा मारेको हो। साँझपख नास्ताको बहानामा प्रायः भीडभाड हुने उक्त पसलमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा पुनर्वासका सुरज थापा, चिन्तामणि राना, प्रेमबहादुर खाती, दुखीराम राना, तारा थापा र पसल सञ्चालक रमेश ठकुरी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट तासको गड्डीसहित नगद ९ हजार ८ सय ७० रुपैयाँ बरामद भएको छ।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। पक्राउ परेकाहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने उहाँले बताउनुभयो।
प्रहरीले नास्ता पसलको आवरणमा जुवालगायतका गैरकानुनी गतिविधि सञ्चालन नगर्न तथा त्यस्ता गतिविधि भएको पाइएमा सूचना दिनसमेत आग्रह गरेको छ।


