महेन्द्रनगर । कञ्चनपुरमा ८ विद्यालयको एसईई नतिजा शुन्य आएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक नतिजामा ती विद्यालयका सबै विद्यार्थीको नतिजा एनजी आएको हो ।
शून्य नतिजा आउने विद्यालयमा भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाका छन् ।
लालझाडीका दुई विद्यालयको नतिजा शुन्य आएको छ । सरस्वती मावि छोटी पर्सिया र बैजनाथ माविका सबै विद्यार्थीको एनजी आएको छ । सरस्वतीबाट २० र बैजनाथका ६३ विद्यार्थीले एसईई दिएका थिए । भीमदत्त नगरपालिकाका लक्ष्मी मावि खैरभट्टी र पञ्चकृत बैजनाथ माविको नतिजा शुन्य आएको छ । लक्ष्मी माविबाट १३ र पञ्चकृतका २६ विद्यार्थीले परीक्षा दिएका हुन् ।
बेदकोटको बालज्योति मावि बैतोडा, शुक्लाफाँटा नगरपालिकाको असिग्राम मावि सिसैया, पुनर्वासको बालबागिश्वरी मावि बुद्धवस्ती र बेलौरीको जन नमूना मावि रामनगरको नतिजा एनजी आएको छ । बालज्योतिका ३८, असिग्राम २७, बालबागिश्वरी १९ र जन नमूनाका १७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।