महिलाहरूबीच प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्र बनाएर जान सकिन्छः देउवा

प्रकाशित:

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलाहरूबीच मात्र प्रतिस्पर्धा हुने गरी निर्वाचन क्षेत्र बनाएर जान सकिने बताएका छन्।

पार्टीको नीति, सिद्धान्त तथा महिला संघको भावी रणनीतिबारे बिहीबार काठमाडौंको बत्तिसपुतलीमा भएको कार्यक्रममा सभापति देउवाले प्रत्यक्षतर्फ चुनाव लड्न महिलाहरूका लागि निर्वाचन क्षेत्र तय गरेर जान पनि सकिने बताए।
‘यहाँ महिलाहरूको कुरा उठेको छ, चुनावमा महिलाहरूलाई सिटको व्यवस्था गर्नुपर्छ नत्र समस्या पर्छ भन्ने कुरा छ,’ सभापति देउवाले भने, ‘त्यो गरेर जान सकिने कुरा हो।’

उनले अरू पार्टीका महिलाहरू निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार भई जिते पनि कांग्रेसमा कम संख्यामा मात्र जित्ने गरेको पनि सुनाएका थिए।‘अरू पार्टीका महिला चुनावमा जित्ने हाम्रा त हारिहाल्छ, समस्या पर्छ के,’ उनले भने, ‘महिलालाई पनि प्रत्यक्षतर्फ चुनाव जिताउने किसिमले तयारी गर्नुपर्छ।’

साथै उनले महिला सशक्तिकरणको अभियान अघि बढाउन पनि आग्रह गरेका छन्।
उनले राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेको पनि बताएका थिए। आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भूमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्न सक्ने सभापति देउवाले बताए।
उनले कांग्रेसभित्र अन्तर्घातको रोग रहेको पनि बताएका थिए। ‘अन्तर्घातको रोगबाट मुक्त गरेको खण्डमा महिलाहरुलाई अझ बढी मौका मिल्छ,’ उनले भने।

अहिले संसारभर नै महिलाहरुको अधिकार, समावेशीकरण, समानुपातिक विकासका लागि आवाज उठिरहेको उनले बताए।नेपालमा पनि विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेको उल्लेख गर्दै देउवाले योग्य हुन आग्रह गरेका थिए।
साभार : (सेतोपाटी)

ताजा समाचार

सम्बन्धित समाचार