महेन्द्रनगर । कञ्चनपुरको शूक्लाफाँटा नगरपालिकामा कार्यरत ५० जना कर्मचारीको नाममा १७ लाखभन्दा बढी अबैध रकम जम्मा गरिएको फेला परेको छ।
पालिकामा करार कर्मचारीको रुपमा कार्यरत कर्मचारीको नाममा ऐनविपरीत १७ लाख ९ हजार १३१ रुपैयाँ संचयकोषमा जम्मा गरिएको पाइएको हो। करार कर्मचारीलाई पारिश्रमिक तथा सेवासुविधा भुक्तानी गर्दा तोकिएको ऐननियमको पालना गरेर सोहीअनुसार भुक्तानी गर्नुपर्नेमा शुक्लाफाँटामा पनि ऐननियमकै खिल्ली उडाउने गरेर संचयकोषमा रकम जम्मा गरिएको छ।
शुक्लाफाँटा नगरपालिकाले ५० जना करार कर्मचारीलाई पारिश्रमिक रकमको १० प्रतिशत कर्मचारीको पारिश्रमिकबाट कट्टी गरेर नगरपालिकाबाट १० प्रतिशत थप गरी कर्मचारी संचयकोषमा १७ लाख ९ हजार १३१ रुपैयाँ जम्मा गरिएको छ। जबकी करार कर्मचारीलाई संचयकोष सुविधा उपलब्ध गराउने कुनै व्यवस्था नै छैन्। यसरी अबैध रुपमा जम्मा भएको रकम असुलउपर गर्न महालेखा परीक्षकको कार्यालले नगरपालिकालाई सुझाएको छ।
नगरपालिकामा कार्यरत कृष्णप्रसाद भट्ट, लोकेन्द्रराज भट्ट, राजेशकुमार ऐर, राजेन्द्रबहादुर सिंह, टेकेन्द्रप्रसाद भट्ट, सुरेन्द्रदेव भट्ट, हेमराज अवस्थी, मिनाकुमारी भण्डारी, तेजराज जोशी, लक्ष्मी भट्ट र पदमबहादुर ऐरको नाममा संचयकोषमा रकम जम्मा गरिएको छ।
ती सबै करारका कर्मचारी हुन्। त्यस्तै कल्पना शाही, केशवदत्त जोशी, तपस्या भट्ट, करीनदेव भट्ट, सुन्दरी राना, विनोदप्रसाद अवस्थी, गोकुलदेव भट्ट, गोविन्द राना, जयन्तीदेव नाथ, टीकाप्रसाद अवस्थी, निर्मलाकुमारी पन्त, रनु चौधरी र शिवबहादुर धामीको नाममा पनि ऐन विपरीत संचयकोषमा रकम जम्मा गरिएको छ।
यसका साथै सिवता चौधरी, सोमनाथ राना, कलावतीकुमारी विक, बल्देवसिंह धामी, विस्नादेवी भट्ट, दिपककुमार चुनारा, परमानन्द भट्ट, पदमबहादुर ऐर, अमै कामी, वविताकुमारी राना चौधरी र हरिमान चौधरीको नाममा पनि त्यसैगरी संचयकोषमा रकम जम्मा गरिएको छ। जम्मा भएको रकम असुलउपर गर्न महालेखाले सुझाएको छ।