सुदूरपश्चिममा प्रदेश सभा बैठक स्थगित

प्रकाशित:

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बहुमत पाउने आधार अनिश्चित बनेको छ। नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगर्दा मुख्यमन्त्रीका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक नै स्थगित हुन पुगेको हो।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार साँझ ५ बजे बोलाइएको बैठक शनिबार साँझ साढे ५ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

सत्ता पक्षबाटै विश्वासको मत नपाइने खतरा बढेपछि मुख्यमन्त्री सोडारीको आग्रहमा प्रदेशसभाको बैठक स्थगित गरिएको हो।

सल्लाह नै नगरी विश्वासको मत लिन खोजेको भन्दै सोडारीलाई मत नदिने एमालेले बताएको थियो। नागरिक उन्मुक्ति पार्टी विश्वासको मतबारे विभाजित छ।

पार्टीको रेशम चौधरी पक्षले सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ। यता रञ्जिता श्रेष्ठ पक्षका दुई सांसद भने विश्वासको मत दिने तयारीमा छन्।

उनीहरू दुवै जना प्रदेश सरकारमा सहभागी छन्। सत्तारुढ माओवादी केन्द्रले भने सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने संसदीय दलका नेता मानबहादुर धामीले बताएका छन्।

नेपाली कांग्रेसले भने मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने चेतावनी दिएको हो। असंवैधानिक ढंगले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने निर्णय गरेको छ।

सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। विश्वासको मत लिन उनलाई जेठ ५ गतेसम्मको समय छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत आर्जन गर्न २७ सांसद आवश्यक पर्छ। एमाले, माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति रञ्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ। प्रदेशसभामा हाल नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन्।

No description available.

ताजा समाचार

सम्बन्धित समाचार